कैलाली ।
सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको बैठकमा दुई वटा विधेयकमाथि सामान्य छलफल भएको छ । बैठकमा सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सभामा उक्त विधेयकहरूमाथि सामान्य छलफल गर्न प्रस्ताव पेश गरेका थिए ।
आमसञ्चार विधेयकमाथि छलफल गर्दै सांसद्हरूले आमसञ्चार क्षेत्रलाई प्रदेश सरकारबाट सुविधा प्रदान गर्न र साना सञ्चारमाध्यमलाई संरक्षण गर्नपर्ने बताएका छन् ।
सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद् तथा विशेषाधिकार समितिकी सभापति तुलसी देवकोटाले सूचना पाउने आम नागरिकको अधिकारलाई सुनिश्चित गर्दै आमसञ्चारलाई स्वतन्त्र र मर्यादित बनाउनुपर्ने बताइन् । उनले नियमनको नाममा आमसञ्चारको स्वतन्त्रता हनन् हुनेतर्फ सचेत पनि रहनुपर्ने बताइन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद् तथा पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले पत्रकारितालाई जनउत्तरदायी बनाउन विधेयकले भूमिका गर्ने बताउँदै उक्त विधेयकले प्रतिपक्षबाट आफूहरूले समर्थन गरेको बताए । उनले उक्त विधेयक संसदीय समितिमा दफावार छलफल गरी पारित गरिनुपर्ने धारणा राखे ।
सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य दमन भण्डारीले सञ्चार क्षेत्रको नियमनको आवश्यकता महसुस गरेर सरकारले उक्त विधेयक ल्याएको बताए । उनले विधेयकले सञ्चारमाध्यममा आउने भ्रामक सन्देशहरूलाई नियन्त्रण गर्न सहयोग गर्ने बताए । यसैगरी, जीवनाशक विषादी व्यवस्थापन विधेयकमाथि छलफल गर्दै नेपाली काँग्रेसकी सांसद ललिता सुनारले कृषिमा प्रयोग हुने विषादी नियन्त्रण गर्न सहयोग गर्ने बताइन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्टले जैविक कृषि विकासको युगमा प्रवेश गर्न विधेयकले सहयोग गर्ने बताए । उनले किसानको भौतिक जीवनको रक्षा र उपभोक्ताको स्वास्थ्य प्रबद्र्धनमा समेत विधेयकले सहयोग गर्ने बताए । नेकपा एमाले सांसद्ले कृषिमा व्यापक विषादी प्रयोग भइरहेको भए पनि कृषिबाट प्रदेशले लाभ लिन नसकेको बताए ।
उनले विषादी प्रयोगले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याइरहेको बताउँदै जीवनाशक विषादी नियन्त्रण गरी जैविक कृषि विकासलाई सहयोग गर्ने बताए । उनले विषादीसम्बन्धी व्यवसाय अघि नै गरिरहेका व्यवसायको व्यवस्थापनलाई समेत विधेयकमा समेट्नु पर्ने बताए । सांसदहरूले विधेयकहरूमाथि उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री सार्कीले सांसदहरूले उठाएका विषय विधेयकमा समेटिने बताए । उनले विषादी प्रयोग नियन्त्रणका लागि प्रदेश सरकारले प्रविधि व्यवस्थापन गरिरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्