कैलाली ।
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन मंगलबारदेखि सुरु भएको छ । बैठकमा जेनजी आन्दोलनदेखि बालेन सरकारबारे चर्चा भएको छ । सत्तारुढ नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम धामीले २४ भदौमा सरकारी र निजी सम्पत्तिमाथि भएको आगजनीको खेद प्रकट गरे । ‘पुराना दलले जतिसुकै गलत गरे पनि सिंहदरबारमाथि आगजनी गरेका थिएनन्,’ उनले भने ।
नेपाली जनताले बेलाबेला फरकफरक दललाई विश्वास गरेको बताउँदै रास्वपा नेतृत्वको वर्तमान सरकारका केही दिन हेर्न भने कुर्नुपर्ने बताए ।
धामीले पार्टीका सभापति शेरबहादुर देउवा तथा आरजु राणा देउवामाथि आक्रमण हुँदा समेत कसैले आवाज उठाउन नसकेको बताए । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको पनि उनले विरोध जनाए ।
किरियामा भएको बेला समेत सरकारले मानवता नदेखाएको उनको भनाइ थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्टले जेनजी आन्दोलनपछि पनि प्रदेश सरकार गम्भीर नबनेको भन्दै आलोचना गरे । ‘जेनजी आन्दोलनपछि झन बढी गम्भीर बन्नुपर्ने अवस्थामा प्रदेश सरकार निन्द्रामा सुतेको जस्तो देखियो,’ उनले भने, ‘जेनजी आन्दोलन र प्रदेशको औचित्यमाथि उठेको प्रश्नबारे समीक्षा गर्न आवश्यक छ । त्यो भएको छैन ।’ जनताले सबैलाई पालैपालो अवसर दिएको बताउँदै भट्टले अवसरको सदुपयोग कसैले गर्न नसकेको बताए । उनले २३ र २४ गतेको घटनामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताए । ‘२४ गतेको आगजनीमा संलग्नलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘तर, त्यसको पछाडि २३ गतेको दमन त कारक थिएन भनेर सोच्न आवश्यक छ ।’
सत्तारुढ दल एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि जेनजी आन्दोलनको विषय उठाए । आन्दोलनका नाममा आफ्नो घरमाथि पनि आगजनी भएको बताउँदै उनले व्यक्ति र सरकारी संरचनामा आगजनी गर्नेमाथि कारबाही हुनुपर्ने रावलले बताए ।
रावलले बैठकमा बालेन्द्र शाह नेतृत्वको संघीय सरकारको आलोचना पनि गरे ।
‘देश अराजकतातर्फ धकेलिएको छ,’ उनले भने, ‘विधिको शासनको उल्लंघन गर्दै ओली र लेखकलाई पक्राउ गरिएको छ ।’ उनले गैरकानुनी रूपमा नेताहरूलाई पक्राउ गरिएको भन्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा मागे । मंगलबारको बैठकमा आसञ्चार विधेयक पनि टेबुल भएको छ ।









प्रतिक्रिया दिनुहोस्