सम्पादकीयः माघी/माघे सङ्क्रान्तिको शुभकामना



आज माघ १ गते । हिन्दु धर्मावलम्बीहरूको विशेष दिन । माघी/ माघे सङ्क्रान्ति । माघी नेपालमा मनाइने एक महत्वपूर्ण चाड हो । यो चाड माघ महिनाको पहिलो दिन मनाइन्छ । नेपालमा विशेषगरी तराईका विभिन्न जिल्लाहरूमा बसोबास गर्दै आएका आदिवासी थारू समुदायले माघीलाई धुमधामका साथ मनाउने गर्दछन् । थारू समुदायको प्रमुखमध्येको एक ठूलो चाड हो माघी । यो चाडले थारू समुदायको संस्कृति र परम्पराको प्रतिविम्बित गर्दछ । माघीमा थारूहरू नयाँ वर्षको शुभारम्भ गर्दछन् र विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छन् । थारू समुदायमा नयाँ सालको साथसाथै परापूर्वकालदेखि खेतीबालीमा लागेको समुदाय हो । पुस मसान्तसम्म सम्पूर्ण धानबालीको कामलाई सिध्याएर माघ १ गतेदेखि आउने वर्षको लागि कार्य नीतिहरू तय हुन्छ । माघ १ गतेदेखि नयाँ कामको सुरुवात गर्ने भएकोले र धार्मिक दृष्टिकोणले पनि माघी पर्व महत्वपूर्ण मानिन्छ । माघीको अवसरमा विभिन्न ठाउँमा मेला लाग्ने गर्दछ, जहाँ मानिसहरू जम्मा भएर पूजा, प्रार्थना र सामाजिक कार्यक्रमहरू गरि मनाउने गर्दछन् । माघी नयाँ सुरुवातको प्रतीक हो, यस पर्वले खुसी र उत्सव ल्याउँदछ । थारू समुदायमा विभिन्न कार्यक्रमको आयोजना गरेर यस पर्वलाई भव्य रूपमौ मनाइने गरिन्छ ।

विशेषगरी ठुलाबडाबाट आर्शीवाद लिने, सम्पूर्ण परिवार एकजुट भएर रमाइलो गर्ने, मिठोमसिनो खाने, विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेर मनाइने गरिन्छ । वैदिक ज्योतिषशास्त्रअनुसार माघ १ गतेबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । अर्थात् अब पृथ्वीको उत्तरी गोलार्ध सूर्यको नजिक सर्दै जान्छ । यसको अर्थ नेपाल रहेको उत्तरी गोलार्धमा अब विस्तारै न्यानो बढ्दै जानेछ । चिसो मौसमबाट तातो मौसमतिर लाग्ने भनेर ज्योतिषशास्त्रले मानेको यही माघ १ गतेलाई देशभर माघेसंक्रान्ति पर्वका रूपमौ मनाइन्छ । प्रायः चाडबाडहरू कुनै वैदिक वा पौराणिक घटनाको शास्त्रीय व्याख्यामा आधारित हुने गरेकोमा माघे संक्रान्ति भने पृथ्वीको घुमाइले ल्याउने मौसम परिवर्तनको समयलाई आधार मानेर मनाइने मूलतः सांस्कृतिक चाड मानिन्छ । हिन्दु धार्मिक मान्यताअनुसार माघ १ गते मात्रै नभई पूरै माघ महिनानै पवित्र महिना हो । सांस्कृतिक विविधतापूर्ण नेपालका थारू, मगर र किराँत समुदायले नयाँ वर्षको रूपमौ पनि यस दिनलाई मनाउँछन् । मौसम परिवर्तनको समयलाई उत्सवको रूपमौ मनाइने यस पर्वको विभिन्न समुदायअनुसार मनाउने विधिपरम्परा पनि भिन्नाभिन्नै छन् । त्यसैले यस पर्वका नामहरू पनि एकै छैनन् ।

कसैले यस पर्वलाई माघे सङ्क्रान्ति भन्छन् भने कसैले तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति, माघी वा माघ पर्व भने कसैले खिचडी भनेर चिन्छन्। आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ माघ महिनालाई उत्सवको रूपमौ मनाउने यो पर्व मनाउने तरिकहरू मूलतः जाडो मौसम र त्यस अनुकूलको आहारविहारमा आधारित छन् । हिन्दु धार्मिक मान्यताअनुसार माघ महिनालाई दान–पुण्य, धर्म–कर्म र त्यागको महिना मानिन्छ । माघ नक्षत्रको नाममा यस महिनाको नाम माघ रहेको हो । माघ महिनामा मानिसले कम्तीमा एकपटक कुनै पवित्र नदीमा स्नान गरेमा, पूजा–अर्चना र स्नान ध्यान गरेमा पुण्य लाभ मिल्ने विश्वास रहिआएको छ । माघ महिनामै कृष्ण पक्षमा मौनी औँसी, वसन्त पञ्चमी, माघ शुक्ल पक्षको अचला सप्तमी व्रत, माघी पूर्णिमा जस्ता दिनहरूलाई पनि पर्वको रूपमौ मनाउने गरिन्छ । यस हिसाबले माघ महिनाको सुरुवातको दिन माघ १ गते देशभर आज पवित्र चाडको रूपमा मनाइँदै छ । थारू समुदायका साथसाथै मगर समुदायले समेत माघ १ गतेलाई विशेष गरी मनाउने गर्दै आएका छन् । नेपालमा माघी÷माघे सङ्क्रान्तिको महत्व ठूलो छ । चेलीबेटीहरूलाई बोलाएर टीका लगाइदिने सक्दो दानदक्षिणा प्रदान गर्ने मिठोचोखो बनाएर खाना खुवाउने लगायतका विभिन्न प्रचलन रहेका पाइन्छन् नेपाली समाजमा । माघी÷माघे सङ्क्रान्ति मनाउने सम्पूर्ण समुदायलाई हार्दिक शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार