वीरेन्द्रनगर ।
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली प्रदेश धनी रहेको दाबी गर्दै गरिब भनेर प्रचार गर्न नहुने बताए । दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा सञ्चालन भएको महोत्सवमा सम्बोधन गर्दै उनले कर्णाली सम्भावनाले भरिपूर्ण हुँदाहुँदै पनि सधैँ गरिब भनेर चिनाउने प्रवृत्ति गलत भएको दाबी गरे ।
‘कर्णाली प्रदेश कृषि, पशुपालन, जडीबुटी तथा पर्यटनको दृष्टिले अन्य प्रदेशभन्दा अत्यन्तै धनी छ,’ उनले भने, ‘यहाँ अदुवा, स्याउ, सुन्तला, तरकारी, रैथाने बालीदेखि यार्सासम्मका बहुमूल्य जडीबुटी उत्पादन र निर्यात हुन्छ । नेपाली भाषाको जननी पनि यही प्रदेश हो । कुनै पनि दृष्टिले गरिब छैन ।’ तर कर्णालीमा उत्पादन हुने कृषिजन्य वस्तुको उचित बजारीकरण नहुनु ठूलो समस्या रहेको प्रदेश प्रमुख जोशीले बताए ।
विशेषगरी कोल्ड स्टोरको अभावका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको भन्दै यसतर्फ प्रदेश सरकारलाई गम्भीर ध्यान दिन उनले निर्देशन दिए । ‘कर्णालीलाई अब ‘गरिब प्रदेश’ भनेर होइन, सम्भावनायुक्त र समृद्ध प्रदेशका रूपमा चिनाउनुपर्छ । हामीसँग अथाह सम्भावना र स्रोत छन्,’ उनले थपे, ‘यी स्रोतको प्रयोग गरी प्रदेश अर्थतन्त्रमा बलियो बनाउन सकिन्छ । यसका लागि नीतिगत व्यवस्था गरी अघि बढौँ, गरिब छौँ भनेर माग्ने होइन । अब धनी छौँ भनेर पनि चिनाउने हो ।’
त्यसैमा कर्णालीको सल्यान जिल्ला खाद्यान्न, फलफूल, तरकारी तथा जडीबुटी उत्पादनका हिसाबले कर्णाली प्रदेशकै अग्रस्थानमा रहेको पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दाबी गरे । सल्यान हरेक क्षेत्रको उत्पादनमा अपार सम्भावना बोकेको जिल्ला भएकाले यहाँको उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्नेमा उनको जोड छ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सल्यानसँगै कर्णालीका १० वटै जिल्लाले कृषि, वन तथा पशुपालन क्षेत्रमा अत्यन्तै राम्रो सम्भावना बोकेको बताए । तर किसानलाई उत्पादनमुखी कार्यक्रममा जोड्न आवश्यक रहेको उनको भनाइ छ । ‘हालसम्म किसानले उत्पादन गरेको वस्तु बिक्रीमा समस्या नभए पनि बजारको मागअनुसार उत्पादन पु¥याउन नसकिएको अवस्था छ,’ उनले भने, ‘प्रदेश सरकारले उत्पादन वृद्धि गर्ने उद्देश्यले हरेक वर्ष विभिन्न कार्यक्रम ल्याए पनि अधिकांश किसान अझै निर्वाहमुखी खेतीमै सीमित छन् ।
किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सबै पक्षले भूमिका खेल्नुपर्छ ।’ कर्णालीका पूर्वकृषिमन्त्री तथा सांसद भीमप्रकाश शर्माले उत्पादन भएका वस्तुको बजारीकरणमा खासै समस्या नभएको दाबी गरे । तर उत्पादन बढाउन किसानलाई आवश्यक सहयोग, प्रविधि र लगानीको खाँचो रहेको उनको भनाइ छ । किसानलाई उत्पादनमुखी बनाउँदै आर्थिक उपार्जनसँग जोड्नु र यसलाई दीगो बनाइराख्नु मुख्य चुनौती रहेको उनले बताए ।
उद्योग वाणिज्य संघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले उद्योग तथा व्यवसाय क्षेत्रमा देखिएका समस्याका कारण देशको आर्थिक अवस्था धरासायी बन्दै गएको बताए । उद्योग–व्यवसाय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको तर्क छ ।
महोत्सवमा कृषि, पशुपालन, जडीबुटी, पर्यटन, घरेलु तथा साना उद्योगका सामग्रीको प्रदर्शनीसँगै स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने कार्य जारी छ भने स्थानीय उत्पादनको बजारीकरण, किसान र उद्यमीलाई प्रोत्साहन तथा समग्र आर्थिक विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्