स्मार्टफोन प्रयोगकर्ता बढ्दा रेडियो सुन्ने श्रोता घट्दै



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशमा पछिल्लो समय मोबाइल फोन तथा मोबाइल स्मार्ट फोन प्रयोगकर्ता ह्वातै बढेका छन् । तर एफएम रेडियो सुन्ने श्रोताको सङ्ख्या भने वर्षैपिच्छे घट्दै गएको छ । मोबाइल स्मार्ट फोन प्रयोगकर्ताको सङ्ख्या तीव्र रूपमा बढ्दै गएपछि रेडियो सुन्ने श्रोताको सङ्ख्या भने विस्तारै ओरालो लाग्दै गरेको तथ्यांकले देखाउँछ । राष्ट्रिय जनगणना २०७८ का अनुसार रेडियो सुन्ने श्रोताको सङ्ख्याको तुलनामा मोबाइल स्मार्ट फोन प्रयोग गर्नेको सङ्ख्या प्रतिवर्ष वृद्धि भइरहेको छ ।

२०६८ मा मोबाइल स्मार्ट फोन प्रयोग गर्नेको सङ्ख्या शून्य रहेको कर्णालीमा २०७८ मा पुग्दा ५८.४ प्रतिशत प्रयोगकर्ता पुगेका छन् भने २०६८ मा रेडियो सुन्ने श्रोताको सङ्ख्या ७५.८ प्रतिशत रहेको कर्णालीमा २०७८ मा पुग्दा उक्त सङ्ख्या झरेर ४५.९ प्रतिशत पुगेको छ । गाउँगाउँसम्म इन्टरनेटको पहुँच विस्तार, सजिलो डाटा प्याकेज र सामाजिक सञ्जालको लोकप्रियतासँगै नागरिकहरू डिजिटल माध्यमतर्फ आकर्षित हुँदा परम्परागत सञ्चारमाध्यम रेडियो सुन्ने श्रोता भने घट्दो क्रममा देखिएका हुन् ।

स्थानीय तहसम्म मोबाइल नेटवर्क र फोरजी सेवा विस्तार भएपछि समाचार, मनोरञ्जन, शिक्षा र सामाजिक सम्पर्कका लागि स्मार्ट फोन पहिलो रोजाइ बन्दै गएको हो । सहरदेखि गाउँसम्मका युवायुवतीदेखि सर्वसाधारणसमेत फेसबुक, युट्युब, टिकटक र अनलाइन समाचार माध्यममा निर्भर हुन थालेका यस क्षेत्रका विज्ञहरू बताउँछन् । केन्द्रीय तथ्यांक विभाग तथ्यांक समन्वय कार्यालय सुर्खेतका अनुसार २०६८ मा टेलिफोन प्रयोग गर्नेको सङ्ख्या ७.९ प्रतिशत रहेकोमा २०७८ मा बढेर १७.६ प्रतिशत पुगेको छ ।

तर २०६८ मा ल्याण्डलाइन फोन प्रयोग गर्नेको सङ्ख्या २ प्रतिशत रहेकोमा २०७८ घटेर १.९ प्रतिशतमा झरेको छ । यस्तै २०६८ मा साधारण मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या ८२.२ प्रतिशत रहेकोमा २०७८ मा घटेर ४४.३ प्रतिशतमा झरेको तथ्यांक कार्यालयले जनाएको छ । तथ्यांकअनुसार २०६८ मा कम्प्यूटर र ल्यापटप प्रयोग गर्नेको सङ्ख्या १.१ प्रतिशत रहेकोमा २०७८ मा बढेर ५.५ प्रतिशत पुगेको छ भने २०६८ इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ०.४ प्रतिशत रहेकोमा २०७८ मा बढेर २०.३ प्रतिशत पुगेको छ ।

तथ्यांक समन्वय कार्यालय सुर्खेतका अनुसार यो तथ्यांक विगत चार वर्षअघि एक दशक समयावधिको भए पनि मोबाइल स्मार्ट फोन र इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ भने रेडियो, साधारण मोबाइल फोन, टेलिफोन र ल्यान्डलाइन फोन प्रयोगकर्ताको सङ्ख्या घट्दो क्रममा छ ।

किन घट्दै छ रेडियो सुन्ने सङ्ख्या ?

सञ्चार विज्ञहरूका अनुसार रेडियो श्रोता घट्नुका प्रमुख कारणहरूमा डिजिटल सामग्रीको सहज उपलब्धता, दृश्यसहितको समाचार तथा मनोरञ्जनप्रतिको आकर्षण र मोबाइलमै बहुउपयोगी सुविधा हुनुलगायत विशेषता रहेका छन् । पहिले सूचना प्राप्तिको मुख्य माध्यम रहेको रेडियो ठाउँमा अहिले त्यो भूमिका मोबाइल स्मार्ट फोनले लिएको छ ।

स्मार्ट फोन प्रयोग बढ्दा कर्णालीका नागरिकले छिटो र देशविदेशका विविध जानकारी पाउन थालेका छन् । जसका कारण अनलाइन शिक्षा, स्वास्थ्यसम्बन्धी जानकारी, सरकारी सेवामा पहुँच, रोजगारीका अवसरबारे सूचना तथा विश्वसँगको सम्पर्क विस्तार भइरहेको छ । साथै स्थानीय सामग्री डिजिटल प्लेटफर्ममार्फत बाहिरसम्म पुग्न थालेका छन् । तर केहि हदमा यसको नकारात्मक असर पनि देखिन थालेको तथ्यांक समन्वय कार्यालय प्रमुख विनोद आचार्यको दाबी छ ।

‘रेडियो जस्ता स्थानीय र समुदायमुखी माध्यम कमजोर बन्दै जानुले गलत सूचना र अफवाह सामाजिक सञ्जालमार्फत छिटो फैलिएको पाइन्छ,’ उनले भने, ‘पछिल्लो समय युवापुस्तामा मोबाइलको अत्यधिक प्रयोगले समय दुरुपयोग र लतको समस्या बढ्नु चिन्ताको विषय बनेको छ । तथ्यांकअनुसार यसको सही सदुपयोगमा ध्यान दिन जरुरी छ ।’

रेडियोले स्थानीय भाषा, संस्कृति र समुदायका मुद्दा उठाउँदै आएको भूमिका कमजोर हुनसक्ने खतरा पनि बढेको विज्ञहरूले औँल्याएका छन् । डिजिटल माध्यम र परम्परागत रेडियोबीच सन्तुलन आवश्यक रहेको उनीहरू बताउँछन् । रेडियोलाई पनि अनलाइन प्लेटफर्मसँग जोडेर आधुनिक बनाउने र स्मार्ट फोन प्रयोगलाई जिम्मेवार र सचेत बनाउनेतर्फ ध्यान दिनु पर्ने सुझाव छ ।

कर्णालीमा प्रविधिको विकास स्वागतयोग्य भए पनि यसको प्रभावलाई सन्तुलित र दीर्घकालीन फाइदा हुने दिशामा लैजानु पर्ने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगी बताउँछन् । कर्णालीमा इन्टरनेट प्रविधिको विकास भएजस्तै अन्य पूर्वाधार विकास सोचेअनुरुप नभएको उनको भनाइ छ ।

‘विकासका लागि बजेट मात्रै भएर हुँदो रहेनछ, प्रदेश सरकारको खर्च गर्ने क्षमता पनि चाहिने रहेछ । त्यसका लागि तथ्यांकमा टेकेर बजेट तथा योजना बनाउनुपर्छ,’ उनले भने, ‘यतिमात्रै होइन अब तथ्यांकमा टेकेर बोल्नुपर्छ अनावश्यक बोलेर आश्वासन मात्रै बाँड्दा नतिजा देखिँदैन अनि जनतामा निराशा छाउँछ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार