यारी नाका भन्सार कार्यालय बन्द



हुम्ला ।

नेपाल र चीनको सिमाना हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालय बन्द गरिएको छ । हिल्सामा चीनको ताक्लाकोटबाट व्यापारी र सामान आयात रोकिएपछि कुनै कारोबार नहुँँदा भन्सार कार्यालय बन्द गरिएको हो । आगामी तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको कार्यालयका प्रमुख रामराज जैसीले बताए ।

उनका अनुसार पुस महिनाबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामान आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन्द गरेर कर्मचारी सदरमुकाम सिमकोटको सम्पर्क कार्यालयमा आइपुगेका छन् । ‘चीनको ताक्लाकोटबाट सामान आयात हुन छाडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर कर्मचारी फिर्ता हुनु परेको हो,’ कार्यालय प्रमुख जैसीले भने, ‘तर चीनले हिल्सा नाका भने खुला नै राखेको छ । अब यारी नाका भन्सार कार्यालय चैत दोस्रो हप्ताबाट सञ्चालनमा आउने छ ।’

यदि हिमपात र चिसो जारी रहेमा सडक अवरुद्ध हुने हुँदा वैशाखपछि मात्रै भन्सार कार्यालय सञ्चालनमा आउन सक्ने कर्मचारीहरू बताउँछन्। हाल भन्सार कार्यालयमा कर्मचारी उपस्थिति हुने स्थिती नरहेको जनाइएको छ । गत साउन महिनायता यारी नाका भन्सार कार्यालयले १८ लाख ६५ हजार रूपैयाँँ राजस्व संकलन गरेको छ । यो राजस्व गत वर्षभन्दा दोब्बर हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार