सुर्खेत ।
जुम्लामा स्याउ किसान र बीमा कार्यालयबीच टकराब कायमै रहेको छ । स्याउ किसान र शिखर इन्स्योरेन्स कम्पनीबीच पछिल्ला केही महिनायता टकराब चलिरहेको हो । कम्पनीले पाँच वर्षअघि सुरु गरेको मौसमी सूचकांकको आधारमा गरिने बीमाको भुक्तानीलाई लिएर जुम्लाका स्याउ किसान आन्दोलनमै उत्रिन बाध्य बनेका हुन् ।
मौसमजन्य प्रकोपबाट स्याउमा क्षति पुगेपछि किसानहरूले पटक–पटक आफूहरूले तिरेको मूल्य बराबरको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलित भएका छन् । कम्पनीले बीमावापतको रकम भुक्तानीमा आनाकानी गरेपछि किसानहरूले जुम्लास्थित शाखा कार्यालयमा ताला लगाइदिएका छन् । बीमा रकम भुक्तानीको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय जुम्लामा छलफलसमेत भएको थियो ।
तर उक्त छलफल निष्कर्षविहीन बनेपछि आक्रोशित तातोपानी, कनकासुन्दरी र पातारासी गाउँपालिकाका किसानहरूले बीमा कम्पनीको शाखा कार्यालयमा ताला लगाइदिएका छन् । लामो समयदेखि स्याउ बीमावापतको रकम नपाएको गुनासो गर्दै आएका किसानले पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा पनि कम्पनीले बेवास्ता गरेको आरोप छ । किसान र बीमा कम्पनीबीच टकराब हुनुको मुख्य कारण मौसमी रिपोर्ट नै बाधक बनेको हो ।
बीमा कम्पनीले किसानलाई मौसमी फेरबदलबाट पुगेको क्षतिवापत बीमा रकम उपलब्ध गराउने गरी बीमा पोलिसी जारी गरेको छ ।सोहीबमोजिम दुई वर्षअघि स्याउको बीमा गर्न जुम्लाका पालिकाले सूचना आह्वान गरेका थिए । उतिबेला प्रतिबोट ३६ रूपैयाँ २० पैसाका दरले किसानले स्याउको बीमा गरेका थिए । असिना र खडेरीका कारण स्याउ खेतीमा क्षति पुगेपछि किसानहरूले पहिलो पटक भुक्तानी दाबी गरे । सुरुमा भुक्तानी दिन आलटाल गरेपछि चन्दननाथ नगरपालिकाका किसानले विरोध जनाएका थिए ।
किसानको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौताअनुसार खडेरीबाट क्षति शीर्षकमा किसानले तिरेको कूल मूल्यमा १२ रूपैयाँ घटाएर भुक्तानी दिएसँगै विवाद सिर्जना भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँको भनाइ छ । कम्पनीले मौसम कार्यालयको राडारमा असिनापानी र खडेरी नदेखाएको भन्दै किसानले तिरेको प्रिमियम मूल्यभन्दा १२ रूपैयाँ घटाएर दिन लागेको भुक्तानीका विरुद्ध किसानहरू आन्दोलनमा उत्रिएको उनले जानकारी दिए ।
उनका अनुसार बीमा कम्पनीले आफूखुसी खडेरी र असिनापानीबाट क्षति पुगेको भन्दै मूल्य निर्धारण गरेपछि विवाद उत्पन्न भएको हो । जुम्लाको भूगोल र हावापानी एकै किसिमको रहेको भन्दै बीमा कम्पनीले कतै खडेरी त कतै असिनापानीले क्षति पुगेको रिपोर्ट बनाएर १२ रूपैयाँ घटाएर भुक्तानी दिन खोजेपछि किसान आन्दोलित बनेको उनको तर्क छ ।
प्राकृतिक प्रकोप र खडेरीका कारण स्याउ बालीमा ठूलो क्षति भएपछि नियमानुसार बीमावापतको रकम दाबी गर्दा पनि भुक्तानीमा आलटाल भइरहेको छ । मौसमी विवरणको स्पष्ट रिपोर्ट बीमा कम्पनीले देखाएको छैन भने मौसममा आएको फेरबदलपछि खडेरी घोषणा गर्दा बीमा कम्पनीले फिल्ड भिजिट नगरेको किसानको दाबी छ । आफूखुसी बीमाको रकम निर्धारण गरिएको आरोप छ ।
कम्पनीले स्याउ बीमा गरेका अधिकांश किसानका बगैँचा अनुगमन नगरी भुक्तानी प्रक्रियामा चरम लापरबाही गरिरहेको छ । करिब दुई वर्षअघि क्षति पुगेका किसानले बीमावापतको रकम पाउन सकेका छैनन् । कम्पनीले केही महिनाअघि किसानका बगैँचामा पुगेर क्षतिको लगत संकलन गरेको थियो । लागत संकलन गरेका र बीमा पोलिसीअनुसार सबै कागजात पुगेका किसानले समेत भुक्तानी नपाएको आरोप छ ।
बीमाको दाबी भुक्तानी यथाशीघ्र नदिए कानुनी उपचारमा जाने किसानले आन्दोलनमार्फत चेतावनी दिएका छन् । जुम्लाका पाँच हजार ३७९ किसानले स्याउको बीमा गरेकोमा हालसम्म ६५५ जनाले मात्र क्षतिपूर्ति पाएका छन् । ९४७ किसानको प्रक्रिया पूरा भए पनि कम्पनीले भुक्तानी रोकेको छ ।
शिखर इन्स्योरेन्स शाखा कार्यालय जुम्लाका अनुसार मौसम केन्द्रको रिपोर्टका आधारमा नगरपालिकाभित्रका किसानले प्रतिबिरुवा ६३८ रूपैयाँ, गुठिचौरमा २१९, तिला र हिमामा ३३८, सिंजामा १७४, कनकासुन्दरी र तातोपानीमा २४ रूपैयाँ पाउन बाँकी छ । जुम्लामा कूल १२ लाख १२ हजार सात सय सात स्याउका बिरुवाको बीमा गरिएको थियो ।
स्याउ किसानले आफूहरू ठगिएको दाबी गरिरहँदा शिखर इस्योरेन्स कम्पनीले सरकारी निकायको आधिकारिक रिपोर्टभन्दा बाहिर गएर भुक्तानी दिन नसकिने बताउँदै आएको छ । कम्पनीका कर्णाली प्रदेश प्रमुख गणेश जोशीले जुम्लाको हावापानी तथा मौसम कार्यालयको रिपोर्टअनुसार बीमा रकम निर्धारण गरिएको विषयमा विवाद सिर्जना भएको बताए । यो विषयमा किसानहरूसँग छलफल भइरहेको उल्लेख गर्दै बीमाको सर्त र नियमानुसार भुक्तानी दिने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्