रास्वपा सभापति लामिछाने मुद्दाबारे सरकारको स्पष्ट धारणा माग



वीरेन्द्रनगर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा वर्तमान सरकारको स्पष्ट धारणा माग गरिएको बताएका छन् । शुक्रबार रास्वपा कर्णाली प्रदेशद्वारा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका अर्यालले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

तत्कालीन सरकारद्वारा प्रतिशोधी ढंगले थुनामा राखिएको आरोप लागेको मुद्दाबारे अहिलेको सरकारले के सोच राख्छ ? भन्ने बुझ्नेबारे प्रक्रिया जारी रहेको उनले बताए । ‘सहकारीबाट गोरखा मिडियामा गएको रकम अपचलन प्रकरणमा कारागारमा रहेका लामिछानेमाथि प्रतिशोध कायम गर्ने प्रवृत्ति हालको सरकारले नदोहोरोस् भन्ने आशा राखेका छौँ,’ उनले भने, ‘हिजो पेशी स्थगित भयो, कानुनी समूहले काम गरिरहेको छ। ४० लाख नागरिकले हस्ताक्षर गरेको विषयलाई सरकारले कसरी लिन्छ भन्ने बुझिरहेका छौँ ।’

उनका अनुसार आगामी चुनावअघि मुद्दा र एजेन्डा मिल्ने शक्तिहरूसँग एकताको सम्भावनाबारे अध्ययन गर्न पार्टी कार्यदलले काम गरिरहेको छ । अध्ययनपछि पार्टीले स्पष्ट धारणा बनाउने उनको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार