मुगु ।
पछिल्लो केही वर्षयता जिल्लाका अधिकांश युवायुवती रोजगारी र कामको खोजीमा भारत जानेक्रम तीव्र छ । यस वर्षपनि चिसो बढेसँगै सक्रिय श्रमशक्ति बाहिरिएपछि स्थानीय बस्तीहरू सुनसान बन्न थालेका छन् ।
पछिल्लो समयमा जिल्लामा आर्थिक समस्या बढ्दै जाँदा बेरोजगार नागरिक विकल्पको खोजीमा भारत पस्न बाध्य भएका हुन् । स्थानीय बासिन्दा एवं निवर्तमान वडाध्यक्ष चक्रबहादुर सावतका अनुसार गाउँघरमा खेतीपाती गर्दा होस् वा अन्य सामाजिक गतिविधिमा देखिने युवाको चहलपहल अहिले घटेको छ ।
‘युवा पुस्ताको भारततर्फको आकर्षणले गाउँमा अधिकांश स्कुले बालबालिका र वृद्धवृद्धामात्र छन्,’ उनले भने, ‘मुगुका चार वटै स्थानीय तहका विभिन्न गाउँ बस्तीमा विकास निर्माणदेखि सामुदायिक कामकाजमा समेत असर परेको छ ।’
भारतमा काम गरेर भएको आम्दानीले परिवारको खर्च धानिएपनि दीर्घकालिन समस्या समधान नहुने स्थानीयवासीको बुझाइ छ । जिल्लाबाट सक्रिय जनशक्ति बाहिरिएपछि त्यसको प्रत्यक्ष असर व्यापारमा समेत परेको छ । गमगढी बजारमा व्यापार गर्दै आएका व्यापारीहरू समेत व्यापार नचलेपछि विस्थापित हुनुपरेको बताउँछन् ।
गमगढीका अधिकांश व्यापारिक सटरहरू खाली भएको देखिन्छ । स्थानीय सरकार र सरोकारवाला निकायहरूले रोजगारीका अवसर गाउँमै सिर्जना गर्नुपर्ने माग बढ्दो छ । सीपमूलक तालिम र कृषिमा प्रोत्साहनको अभावले युवा बाहिरिने क्रम झनै बढेको हो । सरकारले स्थानीय अर्थतन्त्र मजबुत पार्ने तथा गाउँमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन नीति नअपनाए मुगुका गाउँ–टोल अझ सुनसान बन्दै जाने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।
वर्षभरी गरिएको खेतीले बाह्रै महिना खान नपुग्ने भएपछि आर्थिक अभावले बालबच्चालाई स्कुल पढाउन, स्वास्थ्य उपचारका साथै भैपरी आउने समस्या टार्न स्थानीयलाई सकस छ । जसले गर्दा पनि आर्थिक जोहो गर्न भारत पस्ने दर पछिल्ला केही वर्षहरूमा ह्वात्तै बढेको हो ।









प्रतिक्रिया दिनुहोस्