हुम्ला ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ताँजाकोट गाउँपालिकाका सबै वडाहरूमा सडक सञ्जालमा जोडिएका छन् । बाजुरा जिल्लासँग सिमाना जोडिएको यो पालिकाका पाँचवटै वडामा सडक विस्तार भएको हो । संघीयता कार्यान्वयनमा आएयता आठ वर्षमा गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सडक निर्माणकार्य भएको पालिकाले जनाएको छ ।
सिङ्गो गाउँपालिका सडक सञ्जालमा जोडिएपछि खाद्यान्न तथा निर्माण सामाग्री आयात निर्यातमा सहज भएको छ । गाउँपालिका अध्यक्ष लालकेश जैसीले गाउँपालिकाका पाँचवटै वडाहरू सडक सञ्जालसँग जोडिएको भन्दै यहाँको कृषि उत्पादनले अब बजार पाउने बताए । गाउँपालिकामा रहेका २१ वटामध्ये १९ वटा बस्ती पनि सडक सञ्जालसँग जोडिएको उनले बताए ।
‘अब वडा नम्बर ३ मासपुर र चिई गाउँ मात्र सडक सञ्जालमा जोडिन बाँकी रहेका छन् । मासपुर गाउँका लागि सडक निर्माणकार्य भइरहेको छ,’ उनले भने, ‘अब आगामी आर्थिक वर्षमा उक्त गाउँमा सडक जोडिने छ भने सडक नजोडिएको चिई गाउँमा पनि मेरै कार्यकालमा सडक विस्तार गर्ने तयारी छ ।’ पहिलो र दोस्रो कार्यकालको हालसम्मको अवधिमा गाउँँपालिकाभर सडक निर्माण कार्यले फड्को मारेको उनी बताउँछन् ।
‘यसले ग्रामीण सडकसमेत राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्,’ उनले थपे, ‘गाउँपालिका केन्द्रसम्म पुुग्न ६ देखि ८ घण्टा पैदल हिँड्नुपर्ने समय बचत भएको छ ।’ सडक जोडिएपछि गाउँपालिका केन्द्रमा हरेक गाउँदेखि एक÷डेढ घण्टामा पुग्ने गरेको उनको भनाइ छ । ‘गाउँपालिकाका वडा मात्र नभएर छिमेकी अदानचुली गाउँपालिकाको सिमानासम्म सडक निर्माण गर्ने कार्य भएको छ,’ उनले भने, ‘सबै वडामा सडक जोडिएको कारण स्थानीय बिरामी पर्दा स्टेचरमा बोक्नुपर्ने बाध्यता हटेको छ । बिरामीलाई समयमै स्वास्थ्य चौकीमा पु¥याउन पनि सहज भएको छ ।’
हाल सडक नजोडिएका दुई बस्तीबाहेक अन्य सबै बस्तीका स्थानीयले पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । विकास निर्माणका सामानहरू पनि ढुवानीमा सहजता भएको छ । सडक जोडिएकै कारण आरसीसी भवन निर्माणको क्रम बढेको छ भने अन्य विकास निर्माणका सामग्री पनि सस्तो भएका छन् । सबै वडा सडक सञ्जालसँग जोडिने हुम्ला जिल्लाका सात स्थानीय तहमध्ये ताँजाकोट पहिलो स्थानीय तह हो ।









प्रतिक्रिया दिनुहोस्