कर्णालीका ३११ वटा सहकारीको सेयर पूँजी १७ अर्ब ५३ करोड



नन्दराम जैशी । सुर्खेत ।

भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालय सुर्खेतका अनुसार कर्णालीमा ३११ वटा सहकारी दर्ता भई सञ्चालनमा रहेका छन् । कर्णालीका १० जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेका यी सहकारीहरूको सेयर पूँजी भने १७ अर्ब ५३ करोड बढी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका वरिष्ठ शाखा अधिकृत भीमबहादुर कार्कीका अनुसार कार्यालयमा दर्ता भएका सहकारीहरूको कूल सेयर पूँजी १७ अर्ब ५३ करोड ८३ लाख ३१ हजार र कूल बचत आठ अर्ब १९ करोड ४४ लाख रहेको छ ।

यस्तै कूल ऋण लगानी ११ अर्ब ५१ करोड ६४ लाख छ । तर, कर्णालीका सहकारीको कूल सम्पत्ति तथा दायित्व भने १४ अर्ब रहेको छ । यी सहकारीबाट महिला ५७६ र पुरुष ५२२ गरी एक हजार ९८ जनाले प्रत्यक्ष रोजगारी पाएको शाखा अधिकृत कार्कीले बताए । उनका अनुसार सहकारीहरूमा एक लाख ८२ हजार ५०३ महिला र ७९ हजार ८२० पुरुष गरी दुई लाख ६२ हजार ३२३ जना सेयर सदस्य छन् । यी सहकारीहरू प्रदेश सरकार मातहतमा दर्ता भएका हुन् । जसअन्तर्गत सुर्खेतमा १०२ सहकारी दर्ता भएका छन् ।

यस्तै दैलेखमा ३७, जुम्लामा ३४, कालीकोटमा ३२, जाजरकोटमा २७, सल्यानका २५, रूकुम पश्चिममा २३, हुम्लामा १५, मुगुमा ११ र डोल्पामा पाँचवटा सहकारी प्रदेश मातहत दर्ता भएका छन् । कर्णालीमा दर्ता भई सञ्चालनमा रहेका सहकारीमा भुलवश हुने गल्तीबाहेक सञ्चालक र कर्मचारीबाट कुनै खालको बदनियत नदेखिएको कार्कीले जानकारी दिए ।

‘कर्णालीमा स्थापना भएका सहकारीहरूमा बचतकर्ताको रकम सुरक्षित रहेको पाइएको छ,’ उनले भने, ‘नियमित अनुगमन र सुपरिवेक्षणका क्रममा अन्य प्रदेशमा जस्तो कर्णालीमा बचतकर्ताको रकम जोखिममा नरहेको देखियो ।’ नेपालका सुप्रिम, सूर्यदर्शन, शिवशिखरलगायत केही सहकारीका सञ्चालक र कर्मचारीको मिलेमतोमा बचतकर्ताको रकम अपचलन गरेर बदनाम बनाउन खोजिएपनि सिंगो सहकारी क्षेत्रको साख कर्णालीमा भने सुरक्षित देखिएको हो । उपभोक्ता हित संरक्षण मञ्च नेपाल कर्णाली प्रदेशले आयोजना गरेको सहकारी क्षेत्रका समस्या समाधानका लागि सरोकारवालाबीचको प्रदेशस्तरीय समन्वय बैठकमा कर्णालीका सहकारीहरू संकटमुक्त रहेको सहकारी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

रोजगारी सिर्जनाको अवस्था कमजोर

कर्णालीमा सहकारीको सङ्ख्याअनुसार रोजगारी सिर्जनाको अवस्था भने कमजोर रहेको पाइएको छ । सहकारीमा आर्थिक कारोबार कम हुनुले पनि रोजगारी सिर्जनामा चुनौती थपिएको हो । कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, वैकल्पिक ऊर्जा, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध र घरेलु, शैक्षिकलगायतका सहकारी सञ्चालनमा छन् ।

यी सहकारीलाई सहकारी रजिष्ट्रार कार्यालय सुर्खेतले दर्ता, नियमन र प्रवद्र्धन गर्दै आएको छ । सहकारी शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आएको कार्यालय प्रमुख खिमानन्द अर्यालले बताए । सहकारी संघ संस्थाको निरन्तर अनुगमन गरी सुधारका आवश्यक सुझावसँगै बदलिँदो परिस्थितिमा सहकारीमा देखिएका बेथितिलाई सुधार गर्ने प्रयास निरन्तर जारी रहेको उनको भनाइ छ । कर्णालीका सहकारी अभियान्ताहरूले राज्यले सहकारी दर्ता र नवीकरण मात्र नभई प्रवद्र्धनमा ध्यान दिनुपर्ने माग गरेका छन् ।

सहकारी अभियन्ता हरिहरनाथ योगीले राज्यले सहकारी दर्ता गरेको तर प्रवद्र्धनको पाटोमा ध्यान पु¥याउन नसकेको दाबी गरे । कर्जा सूचना केन्द्र, बचत सुरक्षण प्रवद्र्धन कोष कार्यान्वयन नहुँदा सहकारी क्षेत्रमा टाउको दुखाइको विषय बनेको उनको भनाइ छ । अर्का अभियन्ता चन्द्र थानीले सहकारी दर्ता, नियमन र प्रवद्र्धनमा राज्य गम्भीर हुनुपर्ने बताए ।

सरकारले सहकारीलाई तीनखम्बे अर्थ नीतिमा समावेश गरेको भए पनि यसको प्रवद्र्धनमा ध्यान दिन नसकेको उनको गुनासो छ । अभियन्ता शान्ति सिंहले प्रभावकारी अनुगमनको पाटोमा सरकारको उदासिनताले कतिपय सहकारीहरू भद्रगोल बनेको बताइन् । सहकारीबाट ऋण लिने तर ‘तिर्दैनौँ’ भन्नेलाई राज्यले उन्मुक्ति दिँदा बचतकर्ताको लगानी जोखिममा पर्ने अवस्था आएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार