जुम्ला ।
जिल्लाका आठ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा उच्चमूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम कार्यान्वयन हुँदैछ । जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, तीला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा सात वर्ष अवधिका लागि यो कार्यक्रम सञ्चालन हुने भएको हो । कृषि क्षेत्रमा काम गर्नेगरी सो कार्यक्रम कार्यान्वयन हुन लागेको कार्यालय प्रमुख सन्तोष भारतीले जानकारी दिए ।
उनका अनुसार विशेष परियोजनाका रूपमा सञ्चालन हुने सो कार्यक्रमबाट स्थानीय किसानदेखि कृषि उद्यमी र आमउपभोक्ता लाभान्वित हुनेछन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसान तथा कृषि उद्यमी र आमउपभोक्तालाई लाभान्वित तुल्याउँदै जुम्ली जनताको जीवनस्तर सुधारका पक्षमा परियोजना सञ्चालन गरी काम गर्न लागेको स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार जुम्लाको खाद्यबाली, दलहन, तरकारी, फलफूल, पशुपालन, दुग्धजन्य पदार्थको विकास एवं विस्तारका क्षेत्रमा सहयोग र सहकार्यको अवधारणाबमोजिम कार्यक्रम सञ्चालन गरिएको हो । कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शर्माले बाँझिएका जग्गाको सदुपयोग, कृषि उत्पादकत्व वृद्धि र उत्पादित कृषिजन्य वस्तुको बजार व्यवस्थापन हुने अपेक्षा व्यक्त गरे ।
स्याउलगायत स्थानीय फलको संरक्षण र सम्वद्र्धनसहित आमकृषकलाई कृषि क्षेत्रमा आकर्षिण गर्न उच्चमूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सफल हुने जुम्लाका सरोकारवालाले बताएका छन् । जुम्लास्थित कृषकसम्बद्ध विभिन्न संघ, संगठन र अगुवा कृषकले परियोजना सञ्चालन हुन लागेकामा खुसी व्यक्त गरेका छन् । समग्र कृषि क्षेत्रको विकासमा सहयोग र सहकार्य गर्ने जुम्लास्थित सरोकारवाला निकायको प्रतिबद्धता छ ।









प्रतिक्रिया दिनुहोस्