सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० मा ‘कर्णाली बसपार्क योजना’ अघि सारेको थियो । वीरेन्द्रनगरको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न योजना ल्याइएको हो । तर, हाल यो योजना अलपत्र छ । कागजमै सीमित रहेको यस योजना कार्यान्वयनका लागि आवश्यक बजेटको समेत व्यवस्थापन भएको थियो । तर, प्रदेश सरकार आफैँले ल्याएको योजना आफैँ कार्यान्वयन गर्न असफल भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ मा पनि बसपार्क निर्माण योजना पुनः अघि सा¥र्यो । त्यस वर्ष पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार ग¥यो । त्यसलाई नीति तथा कार्यक्रममा पनि समेटियो । तर, डीपीआर बाहेक अन्य काम अघि नबढेपछि फेरी त्यो योजना अलपत्र अवस्थामा छ । महत्वकांक्षी योजनाको नाममा मन्त्रीहरूले रकम सिध्याउनका लागि आफ्ना आफन्त तथा कार्यकर्तालाई डीपीआर बनाउन लगाउने तर योजना कार्यान्वयन नगर्ने गरेको आरोप लाग्दै आएको छ ।
यसको एक गतिलो उदाहरण ‘कर्णाली बसपार्क योजना’ पनि हो । यो योजना निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–१, बाङ्गेसिमलमा सामुदायिक वनको जग्गा चयन भइसकेको छ । प्रत्येक वर्ष नीति तथा कार्यक्रम र बजेटमा योजना समावेश भएपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । यो योजना कार्यान्वयनमा अन्योल देखिनुको कारण दुई निकायबीचको जिम्मेवारी दोहोरोपन र बजेटको कमी रहेको उल्लेख छ ।
पूर्वाधार विकास निर्देशनालयले डीपीआर तयार गरेको भएपनि प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) वीरेन्द्रनगर नगरपालिकाले गर्ने भएको छ । निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीका अनुसार यस वर्ष योजना कार्यान्वयनका लागि दुई करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । न्यून बजेट र कार्यक्रम दोहोरोपनाले कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार प्रदेश राजधानीको सवारी व्यवस्थापन समस्या समाधान गर्न प्रविधिमैत्री बसपार्क निर्माणको योजना अघि बढाइएको हो । हालसम्म सुर्खेत बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले दैनिक रूपमा सास्ती भोग्नु परेको छ । नगरपालिकाले योजना कार्यान्वयन गर्ने भएपनि चुनौती र अन्योलका कारण काममा ढिलाइ भएको हो ।
यस वर्ष कार्यान्वयन सुरु भएमा बसपार्क प्रविधिमैत्री र व्यवस्थित हुने अपेक्षा गरिएको छ । जसले प्रदेश राजधानीका यात्रु र स्थानीय व्यवसायीलाई सहजता प्रदान गर्नेछ । तर, प्रदेश सरकार र नगरपालिकाको कामको गति हेर्दा यो योजना निर्माण हुनेमा शंका कायमै रहेको सरोकारवाला बताउँछन् ।
प्रयोगविहीन जुम्ला बसपार्क
जुम्ला बसपार्क विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ । झन्डै एक करोड बजेट खर्चेर भवन निर्माण गरेपनि जग्गा विवादले बसपार्क अलपत्र अवस्थामा रहेको छ । चन्दननाथ नगरपालिकाले बसपार्क सञ्चालनका लागि पटक पटक छलफल गरेपनि जग्गाको विवाद यथावत रहँदा बसपार्क सञ्चालन नहुँदै जीर्ण बनेको हो । यो बसपार्क २०७६ सालमा निर्माण सम्पन्न भएको थियो । बसपार्कसम्म जाने सडक बनाउन जग्गाको विवाद सुल्झाउन नसक्दा सञ्चालनमा आउन नसकेको हो ।
बसपार्क सञ्चालनमा नआउँदा सवारीसाधन सडकमै जथाभाबी पार्किङ गर्ने गरिरएको छ । चन्दननाथ नगरपालिका–६ का हरिस रोकायाले सडकमा जथाभावी पार्किङ र अव्यवस्थित सडकले दुर्घटनाको जोखिम बढेको बताए । ‘विद्यालय जाँदा बालबालिकादेखि यात्रुलाई समेत ओहोरदोहोर गर्न कठिन हुने गरेको छ’ उनले भने, ‘स्थानीय प्रशासन, नगरपालिका र सरोकारवाला कसैले पनि चासो दिएको पाइदैन ।’ सदरमुकाम खलङ्गाको छेउमा तिला नदीसँगै जोडिएको बसपार्कभित्र एक करोड लागतमा बनेको भवन पनि प्रयोगमा नआउँदै जीर्ण भइरहेको छ ।
बसपार्कमा चाहिने न्यूनतम पूर्वाधारसमेत बनिसकेका छन् । चन्दननाथ नगरपालिकाले धेरै पटक बसपार्क सञ्चालनको प्रयास पनि गरेको थियो। यसका लागि नगरपालिकाले कार्यविधिसमेत बनाएको छ । तर जग्गा विवाद अहिलेसम्म समाधान निस्कन सकेको छैन । बसपार्कको भवन, नालासहितका संरचनामा एक करोड ६० लाख खर्चिएको थियो । उपयोगमा नआउँदा भवनको छानामा लगाइएको जस्ता चुहिन थालेको छ । पर्खाल चिरा परेका छन् । गाडी पार्किङ, यात्रु प्रतीक्षालय, टिकट काउन्टर, शौचालय, पानी, बत्तीलगायतका सबै पूर्वाधार बनाइएको छ । सबै संरचना प्रयोगविहिन बनेका छन् ।
बसपार्क सञ्चालन नहुँदा बजारका कुना कुनामा यातायात व्यवसायीका काउन्टर राखिएका छन् । सवारी दुर्घटनाको जोखिम निम्त्याउने गरी सडकमै गाडी पार्किङ गर्ने गरिएको भएपनि सरोकारवाला मौन देखिन्छन् । तीनपाङ्ग्रे अटोदेखि बस तथा ट्रकसम्मका सवारीसाधन सडकमै पार्किङ गरिँदा समस्या बढिरहेको स्थानीयको गुनासो छ । यता चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बसपार्क सञ्चालनका लागि प्रयास सफल हुन नसकेको बताए ।
‘नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधिसमेत बनाएको छ । तर, बसपार्क जाने सडकमा पर्ने धनीले निःशुल्क जग्गा दिन मानिरहेका छैनन्’ उनले भने, ‘मुआब्जा दिन बजेटको व्यवस्थापन नहुनु र सडकको जग्गा क्लियर नगरी बसपार्क बनाउँदा समस्या आएको हो ।’ तर जग्गाधनी मीनबहादुर थापाले नगरपालिकाको बेवास्ताले बसपार्क सञ्चालनमा नआएको बताए । सम्बन्धित निकायले चाहेमा बसपार्क सञ्चालन गर्न धेरै विकल्प भएपनि मुुआब्जाकै कारण नदेखाउन उनको सुुझाव छ । तत्काल माग सम्बोधन गरी बसपार्क सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्