चारवटा साना जिप नियन्त्रणमा



सल्यान ।

जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लामा अवैधानिक रूपमा सञ्चालन भइरहेका चारवटा साना जिप गाडी नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न भित्री सडकहरूमा सञ्चालन हुँदै आएका गाडीमा नम्बर प्लेट, इन्जिन नम्बर र च्यासिस नम्बर बिलबुकमा उल्लेखित विवरणसँग नमिलेपछि प्रहरीले ती गाडी नियन्त्रणमा लिएको हो । विभिन्न मितिमा ती गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिए ।

उनका अनुसार भे.१ज १२१४, मे.१ज १९१२, रा.१ज ५१० र भे.१ज ७३५ नम्बरका गाडी नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा रहेका जिप गाडीका विषयमा बुधबार पत्रकार सम्मेलन गरेर अवैधानिक रूपमा सञ्चालन भइरहेका सवारीसाधन सार्वजनिक गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार शारदा नगरापालिका–१ श्रीनगर–रूकुमचोकस्थित सल्यान–रूकुमको पक्की सडकखण्डमा नम्बर फरक देखिने गाडी चलेका छन् भन्ने सूचनाका आधारमा चेकजाँच गरिएको थियो ।

चेकजाँचका क्रममा केही गाडीमा इन्जिन र च्यासिस नम्बर डिलिट गरिएको पाइएको थियो । भने केहीमा नम्बर प्लेटमा अंक मिलान नभएको, केहीमा बिलबुकमा भएको नम्बर र गाडीमा भेटिएको नम्बर पूर्ण रूपमा फरक रहेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीमा नम्बर नमिलेको र बिलबुकमा रहेको विवरण फरक देखिएका कारण ती गाडीलाई शंकास्पद अवस्थामा राखिएको थियो । थप अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि उक्त गाडीहरू अवैध रूपमा भित्र्याइएका खुलेको हो ।

चोरी भएका वा नम्बर हेरफेर गरेर चलाइएका हुनसक्ने आशंकामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उक्त गाडीहरू राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाउने तयारी भइरहेको छ । नम्बर हेरफेर, चोरी वा अवैध रूपमा ल्याइएको भए–नभएको विषयमा विभागमार्फत थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका गाडी १० वर्षदेखि १८ वर्षसम्म पुराना रहेको पाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार