नेपालगन्ज ।
अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारहरू मुटु रोगको जोखिममा परेका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र स्वर्गीय पन्नालाल गुप्ता प्रतिष्ठानको समन्वय तथा भेरी अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरूलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क ‘मुटु जाँच शिविर’ मा उनीहरूको स्वास्थ्य परीक्षण गर्दा रिपोर्टमा मुटु रोगको जोखिम देखिएको हो ।
७७ जना पत्रकारहरूको चेकजाँच गर्दा ४५ प्रतिशत बढीलाई कोलेस्ट्रोलको समस्या देखिएको भेरी अस्पतालका मुटु रोग विभाग प्रमुख समेत रहेका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारीले बताए । उनकाअनुसार उच्च रक्तचाप र सुगरको समस्या पनि धेरैमा देखिएको छ । ‘अस्वस्थ जीवनशैली र खानपानका कारण मुटुलाई असर गर्ने रोग धेरैमा देखिएको पाइयो,’ डा.अधिकारीले भने, ‘उहाँहरूलाई अनुशासित जीवनशैली अंगिकार गर्न र जीवनशैली बदल्न सुझाव दिएका छौँ ।’
वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. विकास नेपालका अनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धि समस्या हुने गर्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धि गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको सम्भावना समेत बढ्ने गर्छ । त्यसैले यसको नियन्त्रणका लागि व्यक्ति सचेत हुनुपर्ने डा. नेपालको भनाइ छ ।
कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि व्यायाम गर्ने, धुम्रपान तथा मद्यपान त्याग्नुका साथै बोसोरहित खानेकुराको सेवन गर्न डा.अधिकारीले सुझाए । डा. अधिकारीले फाइबरयुक्त खानेकुराका साथमा हरिया सागसब्जी, फलफूल तथा तरकारीको सेवन अधिक मात्रामा गर्न सुझाव दिएका छन् । मुटु रोग विभागमै कार्यरत फिजिसियन डा.विपिन आचार्यले पत्रकारहरूको स्वास्थ्य रिपोर्टमा मुटुमै समस्या भएको नपाइए पनि तर जोखिम निम्त्याउने कारणहरू धेरैमा देखिएको भन्दै जीवनशैली फेर्न सुझाव दिए । उमेर, शरीर अनुसारको तौल सन्तुलनमा राख्नेदेखि नियमित कसरत गर्ने, खानपिनमा सचेतता अपनाउन उनको सुझाव छ ।









प्रतिक्रिया दिनुहोस्