सम्पादकीयः निर्वाचनको तयारीमा जुट्न जरुरी



अन्तरिम सरकारले आगामी फागुन २१ प्रतिनिधिसभाको निर्वाचन मिति तय गरेको छ । सोही मुताबिक निर्वाचन आयोगले पनि तयारी सुरु गरिसकेको छ । नयाँ नाम दर्तालगायतका अन्य कार्यहरूलाई निर्वाचन आयोगले तयारीस्वरुप अगाडि बढाइरहेको छ । अहिले देश प्रतिनिधिसभाविहीन छ । प्रतिनिधिसभा विघटनपश्चात् अन्तरिम सरकारले आगामी फागुनको २१ गते प्रतिनिधिसभाको निर्वाचनका लागि मिति तोकेर काम अगाडि बढाएको हो । देश अहिले राजनीतिक अस्थिरतामा हिँडिरहेको छ । देशको प्रमुख नीति भनेकै राजनीति हो । यदि देशमा राजनीति अस्थिरता भयो भने स्वदेशी तथा विदेशी शक्तिहरूको नकारात्मक प्रभाव बढ्न सक्छ । उनीहरू आफ्ना विभिन्न लोभ तथा लालच पूरा गराउनका लागि यस्तो अवस्थाको खोजीमा हुन्छन् र अहिले नेपालको यो तरल अवस्थामा विभिन्न रुपहरूबाट उनीहरू सक्रिय भएको पाइन्छ । देशको सार्वभौमसत्ता जनतामा निहित बनाउनका लागि प्रतिनिधिसभा निर्वाचन महत्वपूर्ण छ ।

अबको निर्वाचनमा सबै राजनीतिक दलहरू तयारीमा लाग्न जरुरी छ । देशमा कायम रहेको संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन र अगाडि बढाउनका लागि सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका छ । राजनीतिक दल खराब होइनन् केवल ती दलका केही नेतृत्व र नेताहरू खराब भएका कारण व्यवस्थाप्रति नै प्रश्न उठाउने र अविश्वास बढाउने काम गरे । व्यवस्था खराब हुनै सक्दैन् । तसर्थ यही व्यवस्थालाई कायम गराउनका लागि फागुनमा हुन लागेको प्रतिनिधिसभाको निर्वाचन अति नै महत्वपूर्ण छ । यो निर्वाचनमा सम्पूर्ण राजनीतिक दलहरूले भाग लिनुपर्छ र सम्पूर्ण नेपाली नागरिकहरूले आफूले आफैलाई शासन गर्ने राम्रो जनप्रतिनिधिलाई चुन्नु आवश्यक छ । यसअघिका चुनावमा जस्तो अबका चुनावमा हुनुहुँदैन् । यसअघिका हुने गरेका सबैप्रकारका विकृत्तिजन्य कार्यहरूलाई निरुत्साहित गरी नयाँ युवाहरू नेतृत्व दिने गरी राजनैतिक दलहरूले पनि सचेत हुनु जरुरी छ । अबको निर्वाचनमा सबै राजनीतिक दलहरूले युवालाई अगाडि बढाउन आवश्यक छ । जेनजी युवाहरूको आन्दोलनका कारण देश अहिले यो अवस्थामा पुगेको छ ।

जेनजी आन्दोलनले एउटा गतिलो पाठ सिकाएको छ । अझैपनि राजनीतिक दलका नेता तथा नेतृत्व नसुध्रिने हो भने अझै योभन्दा पनि खराब अवस्था नआउला भन्न सकिँदैन् । हरेक राजनीतिक दललाई यो निर्वाचन भनेको आफू सुध्रिने मौका पनि हुनसक्छ । सबै दलहरूले निर्वाचनमा युवाहरूलाई अगाडि बढाएर आफूले अहिलेसम्म गरेका गल्तीकमजोरी तथा पापहरू पखाल्ने यो ठूलो मौका पनि हो । राजनीतिक दलनिकट रहेका युवा तथा विद्यार्थी संघसंगठनहरूले पनि आआफ्ना पार्टी नेतृत्वलाई दबाब दिन जरुरी छ । अबको भविष्य युवा विद्यार्थीहरूको नै हो । सबै दलभित्रका युवा विद्यार्थीहरूले आआफ्ना दललाई दबाब दिँदै कम्तीमा पनि ६० वर्षभन्दा माथिका कुनैपनि व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न नपाउने अवस्थाको सिर्जनका गराउन जरुरी छ ।

त्यसैगरी जतिसक्दो धेरै युवाहरूनै निर्वाचनमा भाग लिनका लागि तयारी हुन र त्यो अवस्थाको वातावरण तयार गर्नका लागि लाग्नुपर्ने देखिन्छ । राजनीतिक दलका केही नेतृत्व र नेताहरूका कारण देश अहिले यो अवस्थामा आएको सबैमा जगजाहेर नै छ । अबपनि युवाविद्यार्थीहरूले नेतृत्व नलिने हो भने देश अझै वर्षौँ पछि धकलिन सक्छ । जेनजी आन्दोलनको मुद्दामध्यको एउटा मुद्दा युवा नेतृत्व पनि हो । तसर्थ जेनजी आन्दोलनको महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्नका लागि पनि हरेक राजनीतिक दलले अबको निर्वाचनमा युवा नेतृत्व पठाउन जरुरी छ । सबै राजनीतिक दल तथा आम मतदाता नागरिकले प्रतिनिधिसभा निर्वाचनमा भाग लिएर स्वच्छ छवी भएका युवा नेतृत्वलाई रोज्ने र देशलाई निकास दिनका लागि युवा नेतृत्व चुन्नका लागि यो महत्वपूर्ण अवसर छ । तसर्थ निर्वाचन सफल बनाउनका लागि आआफ्नो ठाउँबाट सबैजना जुट्न जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार