हिमपातले कोरोला नाका ठप्प



काठमाडौँ।

मुस्ताङस्थित नेपाल–चीन सीमाको कोरोला नाकामा भारी हिमपात भएको छ । हिमपातका कारण व्यापारिक आवागमन र भन्सार जाँचपासको काम पूर्ण रूपमा अवरुद्ध भएको छ । भन्सार कार्यालय रहेको क्षेत्रसम्मै हिउँ जमेकाले व्यापारिक आवतजावत तथा सामान ओसारपसार कम्तीमा एक–दुई दिन प्रभावित हुने देखिएको छ । भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार, हिमपात र वर्षाका कारण नाका क्षेत्रमा कुनै ठूलो भौतिक क्षति भने भएको छैन ।

हिउँ पन्छ्याएपछि भन्सार प्रक्रिया र व्यापारिक आवतजावत पुनः नियमित सञ्चालनमा आउने उनले जानकारी दिए । अविरल वर्षाका कारण रसुवागढी र तातोपानी नाका बन्द भएपछि पछिल्लो समय चीनबाट हुने आयातका लागि कोरोला नाका मुख्य विकल्पका रूपमा प्रयोग भइरहेको थियो । अन्य नाका अवरुद्ध हुँदा कोरोलामा व्यापारिक चाप र गतिविधि निकै बढेको भए पनि हालैको हिमपातले आयात प्रक्रिया केही सुस्त बनाएको छ ।

‘नाकातर्फ जाने सडकको अन्य भाग सुरक्षित छ । बीचको एक ठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । हिउँ सफा गरिसकेपछि सम्भवतः आगामी एक–दुई दिनभित्र नाका पूर्ण रूपमा सुचारु हुनेछ,’ महानिर्देशक भुसालले भने । चीन नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक हो । गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपालको कूल आयातमा चीनको हिस्सा करिब २०.२८ प्रतिशत छ । भन्सार विभागले वैदेशिक व्यापारका लागि कूल ४० वटा भन्सार नाका तोकेको भए पनि हाल २८ वटा नाका मात्र सक्रिय छन् ।

चीनतर्फ १० वटा नाका जोडिएको छ । भौगोलिक हिसाबले छोटो दूरी र कम लागत पर्ने भएकाले चीनसँगको व्यापारका लागि तातोपानी र रसुवागढी नाकालाई नै मुख्य मार्ग मानिँदै आएको छ । यद्यपि, पछिल्लो समय व्यवसायी र सरकारी निकायहरूले कोरोला नाकालाई पनि स्थायी र सहज रूपमा सञ्चालन गर्न विशेष जोड दिँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार