चाडबाडको मुखमा सडक अस्तव्यस्त



नन्दराम जैशी । सुुर्खेत ।

अविरल वर्षापछि आएको बाढी, पहिरो र सडक भासिने क्रम तीव्र बन्दा देशभरको सडक यातायात सञ्जाल अस्तव्यस्त बनेको छ । पूर्वदेखि पश्चिम र तराईदेखि पहाडसम्मका प्रमुख राजमार्ग तथा सहायक सडकहरू एकपछि अर्को अवरुद्ध हुँदा लामो दूरीको यातायात प्रभावित भएको छ भने राजधानी काठमाडौँ बाहिरी जिल्लासँगको सडक सम्पर्कबाट लगभग विच्छेद हुने अवस्थामा पुगेको छ ।
सडक अवरोधको प्रत्यक्ष असर यातायातमा मात्रै सीमित नभई दैनिक उपभोग्य वस्तुको आपूर्ति, यात्रुको आवागमन र बजार व्यवस्थापनमा समेत देखिन थालेको छ ।

काठमाडौँ भित्रिने तरकारी, फलफूल, खाद्यान्न, निर्माण सामग्रीलगायतका वस्तु बोकेका सवारीसाधन विभिन्न सडकखण्डमा रोकिँदा आपूर्ति शृृंखलामाथि दबाब बढेको छ । देशका विभिन्न भागबाट काठमाडौँ प्रवेश गर्ने प्रमुख नाकाहरू एकपछि अर्को बन्द भएपछि उपत्यकाको सडक सम्पर्क कमजोर बनेको हो । पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ, मुग्लिन–पोखरा, बीपी राजमार्ग तथा कान्ति लोकपथलगायतका महत्वपूर्ण सडकखण्डमा पहिरो, बाढी र सडक भासिने समस्या देखिएको छ ।

यसले लामो दूरीका बस तथा मालवाहक सवारीसाधनलाई सडकमै रोक्नुपर्ने अवस्था सिर्जना गरेको हो । यात्रुहरू बाटोमै अलपत्र परेका छन् भने ढुवानीका साधन लामो समयसम्म रोकिँदा व्यवसायीको लागत बढ्न थालेको छ । सडक अवरोध लम्बिँदै गए बजारमा वस्तुको अभाव र मूल्यवृद्धिको जोखिमसमेत बढ्ने देखिएको छ । यस्तै, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको नवलपुरतर्फको पहुँच मार्ग बाढीले बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पहुँच मार्ग बगेसँगै बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेश मार्गको सम्पर्कविच्छेद भएको छ । उनका अनुसार डेढगाउँ हुँदै तनहुँको भिमाद र पोखरा जोड्ने उक्त सडकबाट स्याङ्जा, पोखरा, तनहुँ, नवलपुर र पाल्पाका बासिन्दा दैनिक आवतजावत गर्दै आएका थिए । प्रदेश राजधानी पोखरासँग नवलपुरलाई जोड्ने छोटो मार्गका रूपमा रहेको यो सडक अवरुद्ध भएपछि स्थानीय आवागमनमा ठूलो असर परेको छ । काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्गमध्ये त्रिभुवन राजपथसमेत पहिरोका कारण प्रभावित भएको छ । सुरुङमार्गबाट निस्कने स्थानको धादिङतर्फ पहिरो खसेपछि आइतबार राजपथ अवरुद्ध भएको हो ।

पहिरोका कारण काठमाडौँ आउने र जाने दुवैतर्फको सडक सम्पर्क प्रभावित भएको छ । यता मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको करिब आधा भाग भासिएको छ । सडक भासिएपछि उक्त स्थानमा एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले जोखिमलाई ध्यानमा राख्दै चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ । लमजुङमा बेँसीसहर–चामे सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडक भासिएको छ । वर्षा जारी रहेकाले पहिरो पन्छाउने र भासिएको सडक मर्मत गर्ने कामसमेत कठिन बनेको छ ।

पूर्वी नेपालतर्फ जाने दुई मुख्य मार्ग ठप्प

काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग र कान्ति लोकपथसमेत पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । कान्ति लोकपथअन्तर्गत ललितपुरको गोदावरीस्थित बिर्खेधारा तथा बागमतीका पाङदुरडोल, टाकुर्चे र छपेलीलगायत स्थानमा पहिरो खसेपछि सडक बन्द भएको छ । पूर्वी नेपालका जिल्लालाई काठमाडौँसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका चारसयबेँसी र गिम्दीबेँसीमा पहिरो खसेको छ । रोशी खोलाले सतर्कता तह पार गरेपछि आसपासको जोखिम थप बढेको छ । यही कारण प्रशासनले बीपी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।

लगातार वर्षा र पहिरोका कारण दुवै राजमार्ग तत्काल खुल्ने अवस्था अनिश्चित बनेको छ । यसले पूर्वी नेपालबाट काठमाडौँ आउने तथा राजधानीबाट पूर्वतर्फ जाने यात्रुलाई थप प्रभावित बनाएको छ । काठमाडौँलाई गण्डकी हुँदै पश्चिम नेपालसँग जोड्ने मुग्लिन–पोखरा सडकखण्ड पनि तनहुँका विभिन्न स्थानमा पहिरो खसेपछि प्रभावित भएको छ । कोशी प्रदेशमा ओखलढुंगाको सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङको भँडारे खोलामा आएको लेदोसहितको बाढीले करिब १५ मिटर सडक बगाएको छ ।

सुनसरीको चतरा–बराहक्षेत्र सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । बागमती प्रदेशका पासाङल्हामु राजमार्ग, मैलुङ–स्याफ्रुबेशी सडक र कालुपाण्डे राजमार्गसमेत बाढी तथा पहिरोका कारण ठप्प भएका छन् । देशभर सडक अवरुद्ध हुँदा सबैभन्दा ठूलो चुनौती काठमाडौँ उपत्यकाको आपूर्ति व्यवस्थामा देखिएको छ । उपत्यका दैनिक उपभोग्य वस्तुका लागि बाहिरी जिल्लामाथि ठूलो मात्रामा निर्भर छ । नियमित आपूर्ति अवरुद्ध हुँदा बजारमा अभाव र मूल्यवृद्धिको जोखिमसमेत बढेको छ । लामो दूरीका बस तथा ट्रक सडक किनारमा रोकिँदा यात्रुहरू अलपत्र परेका छन् । निरन्तर वर्षाका कारण पहिरो खस्ने र सडक भासिने क्रम नरोकिएकाले जोखिमयुक्त सडकमा तत्काल यातायात सञ्चालन नगर्ने नीति प्रशासनले लिएको छ ।

पश्चिम नेपालतर्फको यात्रा संकटपूर्ण

पश्चिम नेपालतर्फ जाने सडकको अवस्था पनि उस्तै संकटपूर्ण छ । काठमाडौँलाई पश्चिम नेपालसँग जोड्ने पृथ्वी राजमार्गदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न सडकखण्डमा बाढी र पहिरोका कारण आवागमन प्रभावित भएको छ । धादिङमा मात्रै पृथ्वी राजमार्गका पाँच स्थानमा पहिरो खसेको छ । बेनीघाट रोराङ गाउँपालिकाका कृष्णभिर, तिग्राडखानी, ज्यामिरेघाट र ज्वाङखोला तथा गजुरी गाउँपालिका–२ को परेवा भिरमा ढुंगासहितको पहिरो खसेको छ । कृष्णभिर, तिग्राडखानी र ज्यामिरेघाटमा दुवैतर्फको यातायात प्रभावित भएको छ भने परेवा भिर र ज्वाङखोलामा एकतर्फी यातायात अवरुद्ध भएको छ ।

लुम्बिनी प्रदेशमा बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै सडकमाथिबाट पहिरो खसेपछि यातायात सेवा अवरुद्ध बनेको छ । पाल्पाको तिनाउ–५ स्थित चरचरे र जोरधाराबीच पनि पहिरोका कारण सडक बन्द भएको छ । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत रावसे र पातिखोला तथा रोल्पाको घोराही–थवाङ सहिदमार्गअन्तर्गत ब्याङखोलामा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कर्णालीका विभिन्न जिल्लामा पनि वर्षासँगै पहिरो र माटो खस्दा सडक यातायात प्रभावित भएको छ । कर्णाली राजमार्ग र राप्ती राजमार्गका विभिन्न खण्डमा आवागमनमा समस्या देखिएको हो ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र कर्णाली राजमार्गअन्तर्गत तिलागुफा नगरपालिका–१ भिग्मा, तातोपानी गाउँपालिका राँका जुुम्ला लगाएतका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ को पिना क्षेत्रमा गमगढी–नाग्मा सडकसमेत अवरुद्ध भएको छ । जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरमा भित्री सडक अवरुद्ध भएको छ भने हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पनि सडक बन्द भएको प्रहरीले जनाएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ र ४ स्थित अरिंगालेमा पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएपछि एकतर्फी सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । अछाम, बैतडी, बाजुरा, डडेलधुरा, दार्चुला, डोटी र बझाङमा यातायात सेवा बन्द गरिएको हो ।

सडक खुलाउने प्रयास पनि जोखिमपूर्ण

सरकारले अवरुद्ध सडक तत्काल खुलाउन डोजर तथा अन्य हेभी उपकरण परिचालन गरेको छ । तर पहिरो पन्छाउँदै गर्दा माथिबाट निरन्तर ढुंगा–माटो खस्ने क्रम नरोकिएपछि सडक खुलाउने कामसमेत जोखिमपूर्ण बनेको छ । संघीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार वर्षा र त्यसबाट उत्पन्न हुनसक्ने विपद्लाई ध्यानमा राखेर तत्काल उद्धार, पहिरो पन्छाउने तथा सडक मर्मत गर्न सक्ने गरी विशेष कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ ।

सडक विभागका अनुसार देशभरका संवेदनशील तथा जोखिमयुक्त सडकखण्डमा २४० भन्दा बढी हेभी उपकरण स्ट्यान्डबाई अवस्थामा राखिएका छन् । पहिरोका कारण सडक अवरुद्ध भएको सूचना प्राप्त भएपछि सकेसम्म आधा घण्टाभित्र आवश्यक उपकरण घटनास्थलमा पु¥याउने र बढीमा दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य विभागले लिएको छ । तर निरन्तर वर्षा र पहिरोले यो लक्ष्य कार्यान्वयनमा चुनौती थपेको छ । कतिपय ठाउँमा उपकरण घटनास्थलमा पुगे पनि माथिबाट निरन्तर ढुंगा र माटो खसिरहँदा सुरक्षाका कारण मेसिन सञ्चालन गर्न नसक्ने अवस्था छ ।

सडक खुलाउने क्रममा उपकरण पुगेपछि इन्धन अभावका कारण काम रोकिन नदिन सरकारले वैकल्पिक तयारीसमेत गरेको छ । सडक विभागका अनुसार हेभी मेसिनसँगै कम्तीमा ४८ घण्टा अर्थात् दुई दिनसम्म पुग्ने डिजेल तथा आवश्यक इन्धन ड्रममा राखेर फिल्डमै पठाइएको छ । सडक विभागका सि.डि.ई तथा सूचना अधिकारी इन्जिनियर शुभाञ्जन दाहालका अनुसार एकातर्फ पुरानो पहिरो पन्छाएर सडक सञ्चालन गर्नुपर्ने र अर्कोतर्फ त्यही स्थानमा पुनः पहिरो खस्ने अवस्थाले सडक व्यवस्थापनलाई कठिन बनाएको छ ।

‘कतिपय ठाउँमा सडक भासिएको, नदीको कटानले सडकको जग कमजोर बनाएको र डाइभर्सनमै पहिरो खसेका कारण तत्काल स्थायी समाधान खोज्नसमेत कठिन छ,’ उनले भने, ‘यसले सडक अवरोधसँगै यात्रुको सुरक्षा, मालसामानको ढुवानी, राजधानीको बजार आपूर्ति र दुर्गम जिल्लाको दैनिक जनजीवन एकैपटक प्रभावित भएको छ ।’ उनका अनुसार तीनै तहका सरकार र जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिम न्यूनीकरणका लागि सक्रियता बढाए पनि वर्षा नरोकिँदासम्म सडक सञ्जाल पूर्ण रूपमा सहज हुने अवस्था छैन । लगातारको वर्षा र पहिरोको जोखिम कायम रहेकाले देशभरको सडक यातायात आगामी दिनमा पनि उच्च जोखिममै रहने देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार