बाढीपीडितलाई जनज्योति स्कुलको सहयोग



कोहलपुर ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कोहलपुर–२ सिद्धनगरमा रहेको जनज्योति पब्लिक हाई स्कुलले आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३ हजार ५ सय ५ रूपैयाँँ सहयोग गरेको हो ।

भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विद्यालय परिवारले विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ । विद्यालयका अनुसार विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीले एक दिन बराबरको तलब सहयोग गरेका छन् ।

शिक्षक तथा कर्मचारीबाट संकलित रकममा विद्यालयको तर्फबाट समेत विशेष सहयोग थप गरी कूल १ लाख ३ हजार ५ सय ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । विपद्को समयमा पीडित नागरिकलाई राहत तथा उद्धारका लागि राज्यका विभिन्न निकायसँगै नागरिक समाज, संघसंस्था, विद्यालय, व्यवसायी तथा विभिन्न समुदायबाट सहयोग जुटिरहेका बेला स्कुलले पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार