काठमाडौँ ।
रसुवा बाढीको कारण बैंकिङ क्षेत्रका २६ जना कर्मचारी अझै सम्पर्कमा आउन नसकेको नेपाल बैंकर्स एसोसिएसनले जानकारी दिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना, माछापुच्छ्रे बैंकको ५ जना, एनएमबी र प्रभु बैंकका ४÷४ जना, लक्ष्मी सनराइज र सानिमा बैंकका २÷२ जना, ग्लोबल आइएमई र हिमालयन बैंकका १÷१ जना कर्मचारी अझै सम्पर्कमा आउन नसकेका हुन् । खोजीकार्य चलिरहे पनि कर्मचारी अझै सम्पर्कमा आउन नसकेका हुन् ।
त्यस्तै, वाणिज्य बैंकहरूको क्षति पुगेका नुवाकोट र रसुवा जिल्लाका १७ वटा शाखामा रहेको भल्टमा १७ करोड २४ लाख रूपैयाँ, काउन्टरमा एक करोड १७ लाख रूपैयाँ रहेको र करिब ५५ करोड रूपैयाँ बराबरको मालसामनमा क्षति पुगेको बताइएको छ । यी शाखाबाट दुई अर्ब ४२ करोड रूपैयाँ बराबरको कर्जा लगानी भएको छ । त्यस्तै, तीन निर्माणाधीनसहित आठ जलविद्युत् कम्पनीमा क्षति पुगेको एसोसिएसनले उल्लेख गरेको छ । बैंकहरूका अनुसार यी आयोजनामा करिब सात अर्ब रूपैयाँ बराबरको लगानी भइसकेको देखिन्छ ।
५ मेगावाटको मैलुङ खोला हाइड्रो, २० मेगावाटको लाङटाङ खोला, ३७ मेगावाटको त्रिशूली जलविद्युत, १११ मेगावाटको रसुवागढी, ५१२ किलोबाटको प्राइम माइक्रो हाइड्रोमा क्षति पुगेको हो ।
मैलुङ खोला हाइड्रोमा एनएमबी बैंकको नेतृत्वमा सहवित्तीयकरण लगानीमा २५ करोड ८० लाख कर्जा लगानी भएको हो । लाङटाङ खोलामा पनि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा दुई अर्ब ५० करोड लगानी भएको हो ।
नबिल बैंकले ३७ मेगावाटको त्रिशूली जलविद्युत कम्पनीमा तीन अर्ब ३० करोड र १११ मेगावाटको रसुवागढीमा ४९ करोड ८० लाख रूपैयाँ लगानी गरेको हो । प्राइम माइक्रो हाइड्रोमा प्रभु बैंकले ९ करोड १८ लाख लगानी गरेको हो । त्यस्तै, बैंकहरूको लगानी रहेको निर्माणाधीन तीन आयोजनामा पनि क्षति पुगेको छ । ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ र हिरारत्न हाइड्रो लिमिटेडले निर्माण गर्न लागेका यी तीन आयोजनामा कर्जा लगानी सुनिश्चितता भइसके पनि कति रकम कर्जा लगानी भएको थियो भनेर बैंकहरूले खुलाएका छैनन् ।
इनर्जी इन्जिनियरिङमा नेपाल इन्भेस्टमेन्ट मेगा र नेपाल बैंकको संयुक्त लगानी रहेको छ । लगानी रकम भने बैंकहरूले खुलाएका छैनन् । ब्लू इनर्जी हरारत्न हाइड्रो लिमिटेड नेपाल इन्भेष्टमेन्ट मेगाको लगानी छ । ब्लू इनर्जी लिमिटेडले १ सय मेगावाटको सुपर त्रिशूली र हरारत्न हाइड्रो लिमिटेडले ६.६ मेगावाटको टाडी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको थियो । सुपर त्रिशूली र टाडी खोलाको कूल लागत १३ अर्ब रूपैयाँभन्दा बढी अनुमानित लागत छ ।








प्रतिक्रिया दिनुहोस्