सुदूरपश्चिम ।
सुदूरपश्चिम प्रदेशमा छिट्टै नयाँ सरकार गठन हुने भएको छ । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नेकपाभित्र मुख्यमन्त्री चयनलाई लिएर किचलो भएको भन्ने चर्चा भए पनि ती दाबी निराधार रहेको नेपाली कम्युनिष्ट पार्टीका सुदूरपश्चिम इन्चार्ज भानुभक्त जेशीले बताए ।
नेकपा संसदीय दलमा सुदूरपश्चिममा कुनै किचलो र समस्या नरहेको भन्दै सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेको भए पनि उनले आधिकारिक रुपमा राजीनामा नदिएका कारण सरकार निर्माणमा केही ढिलाइ भएको उनको भनाइ रहेको छ । पुरानो सरकारले मार्ग प्रसस्त गर्नेबित्तिकै नयाँ सरकार बन्ने उनको भनाइ रहेको छ । नेकपा संसदीय दलका नेता खगराज भट्ट स्वभाविक रूपमा मुख्यमन्त्री बन्ने र बाँकी दुवै दलका मन्त्रालय बाँडफाँटका कुरासमेत चाँडै टुंगिने उनले बताए ।
नेकपाका सांसद ओमविक्रम भाट ‘सरल’ले कमल शाह नेतृत्वको सरकारको बहिर्गमनसँगै नेकपा संसदीय दलका नेता खगराज भट्ट स्वभाविक रूपमा मुख्यमन्त्री बन्ने भन्दै यसलाई अनावश्यक हुँदै नभएको विवाद र मिडिया ट्रायलको विषय नबनाउन पनि आग्रह गरे । असार ३१ गते एमालेबाट सरकारमा रहेका मन्त्रीहरूलाई कमलबहादुर शाहले बर्खास्त गरेपछि सत्ता साझेदार दल नेकपा एमालेले असाढ ३१ गते नै समर्थन फर्ता लिएको थियो ।
तत्पश्चात् मुख्यमन्त्री शाह अल्पमतको सरकार चलाइरहेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सत्ता सहकार्यको समझदारी गरेसँगै सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना छैन । एक महिनाभित्र विश्वासको मत परीक्षण गर्न पाउने संवैधानिक व्यवस्थाअनुरूप उनले संसद्मा विश्वासको मत परीक्षण भने गर्न पाउने छन् ।
नेकपा एमाले र नेकपा भने पार्टीको सहमतिअनुसार सरकार निर्माणको छलफलमा जुटेका छन् । कर्णाली र सुदूरपश्चिम गरी दुई देशमा सरकारको नेतृत्व पाएको नेकपाले कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भैसकेका छन् । सुदूरपश्चिममा पनि छिट्टै सरकार गठन हुने दुवै दलका नेताहरूको भनाइ रहेको छ ।









प्रतिक्रिया दिनुहोस्