कर्णालीका हिमाली जिल्लासम्म फैलियो डेङ्गु



वीरेन्द्रनगर ।

जलवायु परिवर्तन र तापक्रम वृद्धिसँगै कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा समेत डेङ्गु संक्रमण देखिन थालेको छ । एक समय तराई र मध्यपहाडी क्षेत्रमा सीमित मानिएको डेङ्गु अहिले उच्च हिमाली भेगसम्म फैलिन थालेपछि स्वास्थ्य क्षेत्र चिन्तित बनेको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार आर्थिक वर्ष २०८२–०८३ को साउनदेखि असार मसान्तसम्म प्रदेशभर तीन हजार ९७९ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।

प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी प्रभावित सुर्खेत रहेको छ । सुुर्खेतमा मात्रै तीन हजार ५४२ जना संक्रमित भएका छन् । निर्देशनालयको तथ्यांकअनुसार रुकुम पश्चिममा ३५७, दैलेख र सल्यानमा २८÷२८, कालीकोटमा नौ, मुगुमा चार, जुम्ला र डोल्पामा तीन÷तीन तथा हुम्लामा दुुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । हिमाली जिल्लाहरूमा समेत संक्रमण देखिन थालेको तथ्यले जलवायु परिवर्तनसँगै एडिज जातका लामखुट्टेका लागि अनुकूल वातावरण विस्तार हुँदै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार तापक्रम वृद्धि, अनियमित वर्षा तथा वातावरणीय परिवर्तनका कारण एडिज लामखुट्टे पहिलेभन्दा बढी उचाइसम्म बाँच्न र प्रजनन गर्न सक्षम भएका छन् । यसले विगतमा जोखिममुक्त मानिएका हिमाली जिल्लाहरूलाई समेत डेङ्गुको जोखिममा पु¥याएको छ । डेङ्गु नियन्त्रणका लागि प्रदेशभर लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका सरुवा रोग फोकल पर्सन उदय थापाका अनुसार लामखुट्टेको प्रजननस्थल नष्ट गर्न प्रत्येक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन भइरहेको छ । घर, कार्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न नदिने, पुराना टायर, ड्रम, गमला, बोतल तथा अन्य भाँडाकुँडामा पानी नराख्ने जस्ता सावधानी अपनाउन उनले आग्रह गरे ।
स्वास्थ्यकर्मीहरूले डेङ्गु नियन्त्रणका लागि सरकारी प्रयाससँगै समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् ।

यसैबीच, जनस्वास्थ्य सेवा कार्यालयद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या पछिल्लो समय गम्भीर चुनौतीका रूपमा देखिन थालेको बताएका छन् । यो समस्या घटाउन व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ । सरोकारवाला र पत्रकारबीचको कार्यक्रममा वक्ताहरूले आत्मदाहलगायतका दुःखद घटनामा वृद्धि भइरहेका बेला मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर समुदायस्तरसम्म सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका आयुर्वेद चिकित्सक डा. शंकर रिजालले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै स्थानीय तहसम्म सहज पहुँच सुनिश्चित गर्नुपर्ने बताए । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले समुदायमै पुगेर मनोसामाजिक परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।

यस्तै, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउन सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि सरकारले पनि देशव्यापी रूपमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार