विपद्बाट तीन महिनामा १६६ जनाको मृत्यु



काठमाडौँ।

गत वैशाख १ गतेदेखि साउन ३ गतेसम्म तीन महिनाको अवधिमा देशभर प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परी १६६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृत्यु गराउने विपद्मा सबैभन्दा उच्च सर्पदंशका घटना रहेका छन् । यस अवधिमा पाँच सय ३५ वटा सर्पदंशका घटनामा परी ३९ जनाले ज्यान गुमाएका छन् भने चार सय ९९ जना घाइते भएका छन् ।

वर्षा मौसमको सुरुवाती तीन महिनामै विपद्का कूल तीन हजार चार सय ३५ घटना घटेका छन् ।प्राधिकरणका अनुसार विपद्का घटनामा परी १ जना अहिलेसम्म पनि बेपत्ता छन् भने नौ सय ८८ जना घाइते भएका छन् । यस्तै, यी घटनाहरूबाट देशभरीका कूल चार हजार पाँच सय ३१ परिवार प्रभावित भएका छन् । प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा सबैभन्दा बढी मानवीय क्षति हुने दोस्रो नम्बर चट्याङका घटना रहेका छन् ।

दुई सय २९ वटा चट्याङका घटनामा परी २५ जनाको मृत्यु भएको छ भने एक सय ३० जना घाइते भएका छन् । लेक लाग्ने (हाई अल्टिच्युड) समस्याका कारण ५५ वटा घटनामा २१ जनाको मृत्यु भएको पनि प्राधिकरणको विवरणमा उल्लेख छ । यस अवधिमा मुलुकभर सबैभन्दा धेरै नौ सय सय १४ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परी १७ जनाको मृत्यु भएको छ भने एक सय ११ जना घाइते भएका छन् ।

आगलागीबाट एक हजार ६ परिवार प्रभावित भएका छन् । यस्तै, वन्यजन्तुको आक्रमणका एक सय ९० घटनामा १७ जनाको मृत्यु हुनुका साथै उक सय ९ जना घाइते भएका छन् । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका घटना पनि बढेका छन् । साढे तीन महिनामा चार सय ९५ वटा पहिरोका घटनामा १३ जनाको मृत्यु भएको छ भने एक सय ७१ वटा बाढीका घटनामा १२ जनाले ज्यान गुमाएका छन् ।

बाढीका कारण एक जना बेपत्ता भएका छन् भने चार सय ५७ परिवार प्रभावित भएका छन् । भारी वर्षाका एक सय ६६ घटनामा चार जनाको मृत्यु भएको छ । यसबाहेक हावाहुरीबाट १३, डुङ्गा पल्टिएर दुई, वनडढेलोबाट एक र हिउँपहिरोबाट एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार