काठमाडौँ ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा वैदेशिक रोजगारीमा जानेहरूको संख्या झण्डै ५० हजारले घटेको हो ।
अघिल्लो आर्थिक वर्षमा १५१ देशमा जानका लागि ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए भने यो आर्थिक वर्ष २०८२/०८३ मा ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या ४७ हजार ७९ ले कम हो । यो वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा ६ लाख ९७ हजार ९६ पुरुष रहेका छन् भने ९५ हजार ९१ महिला रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा श्रम स्वीकृति लिने महिलाको संख्या भने झण्डै एक हजारले बढेको छ।
दक्ष जनशक्ति विदेशिने क्रम बढ्यो
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै दक्ष जनशक्ति रहेका छन् । दक्ष श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेहरूको संख्या मात्रै ४ लाख ८२ हजार ६४३ रहेको छ भने १ हजार ९६ जना उच्च सीप भएका व्यक्तिहरूले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
पछिल्लो समय प्रोफेसनल व्यक्तिहरू पनि विदेशिने क्रम बढेको विभागको तथ्यांकले देखाएको छ । गएको आर्थिक वर्षमा मात्रै ३ हजार ५७० जना प्रोफेसनल व्यक्तिहरू विदेशिएका हुन् । श्रम स्वीकृति लिएर विदेशिनेमा अर्धदक्ष श्रमिकहरूको संख्या १ लाख १४ हजार ६१४ रहेको छ भने १ लाख ९० हजार २६४ जना अदक्ष श्रमिक रहेका छन् ।
यूएई बन्यो पहिलो गन्तव्य
वैदेशिक रोजगारीमा जानेहरूको पहिलो रोजाइ यूएई बनेको छ । आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा धेरै नेपाली यूएई गएका छन् । विभागको तथ्यांकअनुसार पहिलोपटक जाने र बिदामा आएर फर्किनेसमेतको तथ्यांक जोड्दा एक वर्षको अवधिमा १ लाख ८३ हजार ५८० जना यूएई गएका छन् ।
यूएईपछि मलेसिया र कतार दोस्रो गन्तव्य बनेका छन् । यो एक वर्षको अवधिमा मलेसिया जानका लागि १ लाख ३२ हजार ६४६ जनाले श्रम स्वीकृति लिएका छन् । खाडीको देश कतार जानका लागि पनि १ लाख ३२ हजार ५१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, साउदी अरेबिया जानका लागि १ लाख २४ हजार ५८३ रहेको छ भने कुवेत जानका लागि ४३ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन् ।
यूएई, कतार, साउदी, मलेसिया र कुवेतपछि युरोपेली देश रोमानिया रोजाइमा परेको तथ्यांकले देखाएको छ । एक वर्षमा ३३ हजार ९२० जनाले रोमानिया जानका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । रोमानियापछि श्रम जापान जानेहरूको संख्या धेरै रहेको छ । श्रम स्वीकृति लिएर कामकै लागि एक वर्षमा २२ हजार २६६ जना नेपाली जापान गएका छन् ।









प्रतिक्रिया दिनुहोस्