अधुरा योजना सम्पन्न गर्दै नयाँ नेतृत्वलाई मार्गदर्शन गर्ने गुराँसको नीति



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरसँग सीमा जोडिएको दैलेखको गुराँस गाउँपालिकाले चालू आर्थिक वर्षलाई अधुरा योजना सम्पन्न गर्ने वर्षका रूपमा लिएको छ । १८औँ गाउँसभाबाट चालू आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्दै पारित गर्दै गाउँपालिकाले यस्तो नीति लिएको हो । विगत चार वर्षदेखि सञ्चालनमा रहेका अधुरा योजना सम्पन्न गर्दै अब आउने नयाँ नेतृत्वलाई मार्गदर्शन गर्ने गाउँपालिकाले नीति लिएको छ ।

गाउँपालिका अध्यक्ष टोपबहादुर विसीका अनुसार चालू आर्थिक वर्ष २०८३–०८४ लाई नयाँ योजना घोषणा गर्ने वर्षभन्दा पनि विगत चार वर्षदेखि सञ्चालनमा रहेका विकास आयोजना सम्पन्न गर्ने वर्षका रूपमा लिइएको हो । आगामी स्थानीय तह निर्वाचनपछि निर्वाचित भएर आउने नयाँ नेतृत्वलाई स्पष्ट मार्गदर्शन हुने गरी नीति तथा कार्यक्रम निर्माण गरिएको गाउँपालिका अध्यक्ष विसीले जानकारी गराए ।

गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा विकासलाई दीगो, समावेशी तथा परिणाममुखी बनाउने उद्देश्यसहित १९ वटा गौरवका कार्यक्रम समेटिएको गाउँपालिका प्रवक्ता दिपेन्द्र वलीले बताए । उनका अनुसार घर–घरमा धारा, पूर्ण स्वरोजगार उन्मुख, पूर्ण सरसफाइ उन्मुख र पूर्ण उज्यालो गाउँपालिका निर्माणको योजना अन्तिम चरणमा छन् । यस्तै एक वडा–एक उद्योग कार्यक्रम, एक टोल–एक उत्पादन कार्यक्रम, टोल विकास संस्थासँग श्रम सहभागिता, गुराँस गौरवमार्ग स्तरोन्नति र कृषि विकास तथा अनुसन्धान केन्द्रसँग टिस्यु कल्चर ल्याब सञ्चालन जस्ता कार्यक्रमलाई प्राथमिताका साथ अघि बढाइएको छ ।

१५ शय्याको अस्पताल सञ्चालन, राउटे समुदायको बसोबास व्यवस्थापन तथा नागरिकता उपलब्ध गराउने कार्यक्रम र बालमैत्री स्थानीय शासन घोषणा जस्ता महत्वाकांक्षी योजनाहरू समावेश गरिएका छन् । गाउँसभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८३–०८४ का लागि कूल ७० करोड ३२ लाख ३३ हजार ५१६ रूपैयाँ बराबरको बजेट विनियोजन गरिएको प्रवक्ता वलीले जानकारी दिए । उनका अनुसार क्षेत्रगत रूपमा बजेट विनियोजनको अवस्था हेर्दा आर्थिक विकासतर्फ करिब दुई करोड ४२ लाख र सामाजिक विकासतर्फ ४५ करोड ५५ लाखभन्दा बढी रकम विनियोजन गरिएको छ ।

यस्तै पूर्वाधार विकासतर्फ १६ करोड ५२ लाख बढी, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख र सुशासन तथा संस्थागत विकासतर्फ एक करोड ६१ लाख बढी बजेट विनियोजन गरिएको छ । भने शिक्षा र पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ । कार्यक्रमगत विनियोजनमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा पूर्वाधारलाई प्राथमिकतामा राखिएको हो । जसमा शिक्षा, युवा तथा खेलकुदतर्फ २३ करोड पाँच लाख, स्वास्थ्य तथा पोषणमा ६ करोड १६ लाख, सामाजिक सुरक्षातर्फ ११ करोड पाँच लाख ६२ हजार, महिला, बालबालिका तथा समाज कल्याणतर्फ ४० लाख ७४ हजार र कृषि विकासतर्फ एक करोड ६० लाख लगाएत अन्य विभिन्न योजनामा बजेट छुट्याइएको छ ।

गुराँस गाउँपालिकाले चालू आर्थिक वर्षका लागि अधुरा आयोजना सम्पन्न गर्ने, आधारभूत सेवा विस्तार गर्ने, सुशासन प्रवद्र्धन गर्ने, कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई केन्द्रमा राख्ने तथा डिजिटल प्रशासनसहित दीगो विकासको आधार निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम अघि सारेको हो । गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएका यी नीति, कार्यक्रम र बजेटले यस वर्ष गाउँपालिकाको विकास यात्रालाई स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ । यस्तै गाउँसभा सदस्यहरूले उठाएका जिज्ञासा, प्रश्न तथा जनचासोका विषयहरूमा कार्यपालिका अन्तर्गतका क्षेत्रगत समितिका संयोजकहरूले जवाफ दिएका थिए ।

त्यसपछि गाउँसभाअन्तर्गत रहेका विषयगत समितिहरूको पुनर्गठनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ । यसैगरी आर्थिक वर्ष २०८२–०८३ मा विषयगत समितिहरू, न्यायिक समिति तथा राजस्व परामर्श समितिले गरेका कार्यहरूको वार्षिक प्रतिवेदन सम्बन्धित समितिका संयोजकहरूले गाउँसभामा प्रस्तुत गरेका थिए । प्रतिवेदनमार्फत विगत वर्षको कार्यसम्पादन, उपलब्धि तथा आगामी चुनौतीबारे सदस्यहरूलाई जानकारी गराइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार