त्रिविको उपकुलपतिमा डा. भोला थापा नियुक्त



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका हुन् ।

थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय छन् । इन्जिनियरिङमा स्नातक सकेपछि सरकारी कामको सुरु गरेका उनले काठमाडौं विश्वविद्यालयबाट उपप्राध्यापकमा नाम निकालेका थिए ।

प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रार बनेका उनी २०७७ माघमा केयूको उपकुलपति नियुक्त भएका थिए । मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले स्नातकोत्तरमा टर्बाइन रनर र विद्यावारिधि हाइड्रोलिक मेसिनहरूमा बालुवाका कणले हुने घिसावट (क्षरण) मा गरेका छन् । थापाले अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह तथा ल्याबोरेटरी स्कुल, कीर्तिपुरबाट विद्यालय शिक्षा पूरा गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार