काठमाडौं ।
विद्यालयहरूले अबदेखि विद्यार्थीको कपाल काट्न वा कटाउन नपाउने भएका छन् । बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१० औं संशोधन) मा जबरजस्त विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ । विद्यालयहरूले विद्यार्थीको इच्छा विपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आउने गरेको थियो ।
नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने भनिएको छ । विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने नियमावलीमा उल्लेख गरिएको छ ।
लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याई दण्ड दिने, निजको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्य वा मनोसामाजिक अवस्थामाथि प्रतिकूल असर पुग्ने काम गर्न पनि रोक लगाइएको छ ।
शुल्क नतिरेको कारण विद्यार्थीलाई अपमानित गर्न नपाइने प्रावधान पनि नियमावलीमा राखिएको छ । विद्यार्थीलाई सार्वजनिक रूपमा लाञ्छित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्न नपाउने व्यवस्था नियमावलीमा राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्