रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा हो: राजेन्द्र लिङ्देन



काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले रास्वपा पतन हुने दाबी गरेका हुन्। उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नका लागि आफूलाई बदल्नुपर्ने बताए।

‘यो राष्ट्रिय स्वतन्त्र पार्टी त पतन हुनेवाला छ नै, तर त्यसपछि हामी उठ्नको लागि हामीले अहिले गरिराखेको हाम्रो क्रियाकलाप, हाम्रो तरिका, हाम्रो ढाँचामा आमूल परिवर्तन गर्नुपर्नेछ,’ लिङ्देनले भने, ‘हाम्रो संगठन संरचना, हाम्रो कार्यशैली, यसमा परिवर्तन गरेर हामी जानुपर्छ। हामीले आम जनतालाई राष्ट्रिय प्रजातन्त्र पार्टी फेरियो, राष्ट्रिय प्रजातन्त्र पार्टी सुध्रियो भन्ने सन्देश हामीले दिनुपर्नेछ।’

उनले पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। जनताले राप्रपालाई ठूलो मत नदिए पनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको बताए। उनले रास्वपाको पतनको प्रतीक्षा गरेर मात्रै राप्रपाको उदय नहुने पनि बताए। पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्ने उनको भनाइ छ।

‘अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो हो, तर राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि राप्रपाको पालो आउँछ भनेर बसेर राप्रपाको पालो आउँदैन। त्यसका लागि हामीले मेहनत गर्नुपर्छ,’ उनले भने।  उनले पार्टीलाई राष्ट्रिय पार्टी बन्न नदिन विभिन्न प्रयास भएको दाबी गर्दै ती सबै चुनौतीका बाबजुद राप्रपा राष्ट्रिय पार्टीको हैसियतमा कायम रहेको बताए। आगामी दिनमा राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उनको भनाई छ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार