च्यामा गाउँलाई ‘नमुना थारू गाउँ’ घोषणा



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ स्थित च्यामा गाउँलाई औपचारिक रूपमा ‘नमुना थारू गाउँ’ घोषणा गरिएको छ । थारू समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँलाई बुधबार नमुना थारू गाउँ घोषणा गरिएको हो ।

च्यामा गाउँले नमुना थारू गाउँका लागि आवश्यक मापदण्ड पूरा गरेपछि औपचारिक रूपमा ‘नमुना थारू गाउँ’ घोषणा गरिएको गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । गाउँपालिकाले थारू समुदायको मौलिक पहिचान जोगाउँदै पर्यटन विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित च्यामा गाउँलाई ‘नमुना थारू गाउँ’ घोषणा जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय आधुनिकताका कारण लोप हुँदै गएका स्थानीय भाषा, भेषभूषा, संस्कार तथा परम्परागत जीवनशैली संरक्षण गर्न नमुना गाउँ अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । त्यसका लागि गाउँपालिकाले आवश्यक पर्ने सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

थारू समुदायको संस्कृति, परम्परा, जीवनशैली तथा वातावरणीय संरक्षणलाई प्रोत्साहन गर्न गाउँपालिकाले च्यामा गाउँलाई ‘नमुना थारू गाउँ’ घोषणा गरिएको उपाध्यक्ष निर्मला रोकायाले बताइन् । एकातिर थारू समुदायको कला, संस्कृति जगेर्ना हुने र अर्काेतर्फ त्यसबाट आयआर्जनसँग जोड्न सकिने उनको भनाइ थियो ।

नमुना गाउँ घोषणा गरिएपछि गाउँको पहिचान अझ मजबुत हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको नमुना थारू गाउँ घोषणा समितिका अध्यक्ष मेघराज थारूले बताए । गाउँमा थारू समुदायको परम्परागत घर, खानपान, नृत्य, कला र सांस्कृतिक गतिविधिलाई व्यवस्थित रूपमा संरक्षण गरिने उनले जानकारी दिए ।

गाउँलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले स्थानीयस्तरमै रोजगारी सिर्जना, घरेलु उत्पादनको प्रवद्र्धन तथा युवालाई गाउँमै अवसर उपलब्ध हुने उनको विश्वास छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार