
राष्ट्रपति पौडेल – सम्बोधन
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताएका छन् । कानुन दिवस २०८३ का अवसरमा शनिबार आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्ताे बताएका हुन् ।
विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभित हुन थाल्दछ भन्ने बिर्सन नहुने उनले बताए । ‘त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार र उपचार दुबै हुन् भनेर सम्झने र बुझ्ने पुनित दिनलाई नै कानुन दिवसको रूपमा मनाइन्छ, कानुन दिवसको यही मर्मलाई आत्मसात गर्न सकेमात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ’, उनले भने ।
राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको जिकिर गरे ।
कार्यक्रममा उपराष्टपति रामसहायप्रसाद यादव, कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डाेलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूकाे सहभागिता रहेकाे थियाे ।









प्रतिक्रिया दिनुहोस्