आगामी साता वर्षाको प्रक्षेपण



काठमाडौँ।

अहिलेको चर्को गर्मीबाट राहत पाउन अझै केही दिन कुर्नुपर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साताबाट मात्र वर्षाको गतिविधि सुरू हुनेछ । त्यसअघिसम्म गर्मीका कारण तातो हावाको लहर चल्ने भएकाले सतर्कता अपनाउन विभागका मौसमविद्हरूले सुझाव दिएका छन् ।

विभागले देशका विभिन्न क्षेत्रमा बढ्दो गर्मीलाई मध्यनजर गर्दै शनिबार साँझ विशेष बुलेटिन जारी गरेको छ । बुलेटिनमा लेखिएअनुसार पछिल्ला केही दिनदेखि मधेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा तापक्रम उच्च रहँदै आएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिट वेभ)को अवस्था देखिएको छ ।

विभागले आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ । यसका कारण मध्यमस्तरको तातो लहरको जोखिम रहने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बुलेटिनअनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र सुर्खेत जिल्लालाई ‘सतर्क रहनुपर्ने’ श्रेणीमा राखिएको छ । त्यस्तै, डडेलधुरा, अछाम, दैलेख, सल्यान, रोल्पा, प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र परासी जिल्लालाई अद्यावधिक रहनुपर्ने श्रेणीमा समावेश गरिएको छ । विभागले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हलुका कपडा लगाउन र संवेदनशील समूह (बालबालिका, वृद्ध तथा बिरामी)लाई विशेष ध्यान दिन आग्रह गरेको छ ।

यद्यपि, आउँदो साताको सुरुवातदेखि मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षाको गतिविधि देखिने भएकाले तापक्रममा केही गिरावट आउने हुँदा शीतल महसुस हुनेछ । साथै तुवाँलो तथा वायूप्रदूषणमा केही सुधार हुने अपेक्षा छ । तराई भेगका लागि शुक्रबारदेखि शनिबारसम्म कोशी प्रदेशको थोरै ठाउँ, मधेश, बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आइतबारदेखि मंगलबारभित्र कोशी, मधेश, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक÷दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ । यसैगरी बुधबारदेखि विहीबारभित्र भने कोशी प्रदेशका धेरै ठाउँहरूमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा मध्यम खालको पानी पर्ने प्रक्षेपण विभागले गरेको छ ।

पहाडी भेगका लागि शुक्रबारदेखि शनिबारभित्र कोशी प्रदेशका केही ठाउँहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मध्यम खालको पानी पर्ने पूर्वानुमान छ । यसैगरी आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मध्यम खालको पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि बिहीबारभित्र भने कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा मध्यमसम्म पानी पर्ने सम्भावना छ । अहिले प्रिमनसुनको समय भएकाले पानी र हिउँसँगै मेघगर्जन चट्याङसहित असिना र हावाहुरीको पनि सम्भावना हुने भएकाले सावधानी अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार