सार्क विकास प्रतिवेदनमा साझा सहमति



काठमाडौँ ।

सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको गरिबी निवारणसम्बन्धी अन्तरसरकारी विज्ञ समूहको बिहीबार मालद्विभ्सको राजधानी मालेमा सम्पन्न दोस्रो बैठकमा त्यस्तो सहमति भएको हो ।

माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम राज्यमन्त्री हुसेन इमरान अब्दुल मुआइमिनले बैठकको उद्घाटन गर्दै क्षेत्रीय सहकार्य विस्तार र आर्थिक वृद्धिमा जोड दिनुभएको सार्क सचिवालयले जनाएको छ ।

सार्क सचिवालयकी निर्देशक सूचना तथा गरिबी निवारण प्रथमा उप्रेतीले बैठक आयोजना गरेकामा माल्दिभ्स सरकारलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्य प्रवद्र्धनमा निरन्तर सहयोगका लागि एसियाली विकास बैंकप्रति आभार व्यक्त गरे ।

सार्क सचिवालयका अनुसार माल्दिभ्सका वित्त तथा सार्वजनिक उद्यम मन्त्रालयका उपमन्त्री अली रशीदले अध्यक्षता गर्नुभएको बैठकमा सदस्य राष्ट्रका विकाससम्बन्धी मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारीका साथै परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थियो । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार