नेपालगन्ज ।
बाँकेका निर्माण व्यवसायीहरूले पेट्रोलियम पदार्थलगायत निर्माण सामग्रीहरूको मूल्यवृद्धिले निर्माणकार्य प्रभावित हुने अवस्था आएको भन्दै मूल्य समायोजन गर्न आग्रह गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै निर्माण व्यवसायीहरूले महंगीले निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेकोतर्फ ध्यानाकर्षण गराएका हुन् ।
बाँके निर्माण व्यवसायी संघका अध्यक्ष लिलाराज उपाध्यायले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाएको ज्ञापनपत्रमा मध्यपूर्वको युद्धपश्चात् इन्धन मात्रै नभई निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकोले निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।
उक्त ज्ञापनपत्रमार्फत संघले सरकारसँग तत्काल मूल्य समायोजनको स्पष्ट नीति ल्याउन, दररेट हालको बजार मूल्यअनुसार कायम गर्न र निर्माण व्यवसायीलाई राहत दिन माग गरेको छ । अन्यथा निर्माणकार्य ठप्प पार्ने चेतावनी समेत उक्त ज्ञापनपत्रमा दिइएको छ । मूल्यवृद्धिसँगै बजारमा सामग्री अभाव समेत देखिएकाले निर्माण व्यवसाय थप संकटमा परेको संघको भनाइ छ ।
निर्माण क्षेत्रमा बढ्दो लागत, भुक्तानी ढिलाइ र मूल्य समायोजनको अभावले व्यवसायीहरू आक्रोशित बन्दै गएका छन् । निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिले निर्माण कार्य सञ्चालन गर्न कठिन भएको भन्दै संघले यसअघि पनि सरकारको ध्यानाकर्षण गराएको थियो । अहिले देखिएको मूल्यवृद्धि र सामग्री अभावको समस्या समाधानमा नभएमा निर्माणकार्य रोक्ने चेतावनी निर्माण व्यवसायीहरूले दिँदै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्