योजना निर्माणमा सुदूरपश्चिमका प्रदेशसभा सदस्यको असन्तुष्टि



कैलाली ।

प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरी प्रदेशसभा सदस्यहरूको सुझाव संकलन गर्न प्रदेश नीति तथा योजना आयोगले शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उनीहरूले प्रदेश सरकारप्रति असन्तुष्टि पोखेका छन् । उनीहरूले दोस्रो पञ्चवर्षीय योजनामा वार्षिक योजनाको खरिद बिक्री नहुने गरी नीति लिइनुपर्ने बताए ।

सत्ताधारी दल नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले प्रदेशमा सबैभन्दा बढी योजना खरिद बिक्री हुने गरेको बताउँदै पञ्चवर्षीय योजनामा आयोजना खरिद बिक्री नहुने गरी दुई करोडभन्दा कम बजेटको योजना बनाउन नमिल्ने गरी नीति लिन सुझाव दिए ।
काँग्रेसकै अर्का सदस्य पदमबहादुर शाहीले योजनाको नाम बिग्रिएका, ठेगाना फरक परेका योजनाहरू सच्याउन समेत प्रदेश सरकारले ध्यान नदिएको बताए ।

अर्को सत्तारुढ दल नेकपा एमालेका प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले प्रदेश सरकारको कुनै पनि सूचक सकारात्मक नरहेको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका उपनेता अक्कलबहादुर रावलले योजना निर्माणभन्दा पनि योजना कार्यान्वयन र अनुगमनमा कमजोर रहेको बताए ।

‘जुन निकायले योजना कार्यान्वयन गर्छ, उसैले मात्रै अनुगमन गर्छ,’ उनले भने, ‘यसले गर्दा प्रदेशको योजना सफल हुन सकेको छैन ।’
नेकपाका प्रदेशसभा सदस्य नरेशकुमार शाहीले नेपाल सरकारले सुदूरपश्चिममा लगानी नगरेको कारणले यस प्रदेश राजस्व उत्पादनमा कमजोर रहेको बताए ।

नेकपाका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मानबहादुर धामीले जिल्लाहरूमा प्रदेशको पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गर्न सांसद्हरूलाई पनि खटाउनुपर्ने बताए । उनले यसअघि विभिन्न जिल्लामा छलफल भइरहँदा प्रदेशसभा सदस्यहरूलाई सहभागी नगराइएको भन्दै असन्तुष्टि जनाए ।

आर्थिक वर्ष २०८३–८४ बाट लागू हुने दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि नीति तथा योजना आयोगले आर्थिक विकास, सामाजिक विकास, अन्तरसम्बन्धित क्षेत्र र पूर्वाधार विकास क्षेत्र गरी चार वटा क्षेत्रको छुट्टाछुट्टै समिति बनाएर छलफल गरिरहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार