हुलाकको ३० प्रतिशत व्यवसाय विस्तार हुने तथा नागरिकलाई प्रभावकारी रूपमा दुईतर्फी सेवा प्रवाह गर्न सकिन्छ । त्यसैगरी विभिन्न कार्यालय तथा संस्थाहरूले प्रत्येक दिन नगद ल्याएर हुलाकमा आई पत्र तथा पार्सल दर्ता गर्नु पर्ने वर्तमान व्यवस्थालाई झन्झटिलो मानेका कारण हुलाकबाट चिठीपत्र तथा सामान दर्ता गर्ने सङ्ख्या घटेको अनुमान गरिएको छ । आउँदा दिनमा हुलाक कार्यालयले ती संस्था तथा कार्यालयहरूसँग सम्झौता गरी उधारो सेवा प्रवाह गर्ने र मासिक रूपमा भुक्तानी माग गर्न सक्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने देखिन्छ ।
गोविन्दप्र्रसाद पाण्डे
घर–घरबाट संकलन/उधारो सेवा
हुलाकले हाल नागरिकका घरसम्म पुगेर चिठ्ठीपत्र वितरण गर्ने काम गर्दछ । अहिले गरिरहेको सेवा एकतर्फी वितरणलाई मात्र समेटिएको छ । पत्र तथा पार्सल दर्ता गर्न नागरिक हुलाक कार्यालयमा आउनु पर्ने बाध्यताबाट छुट्कारा दिन पत्र वितरण गर्न जाँदा सोही घरबाट बाहिर पठाउनु पर्ने पत्र वा सामान भए त्यसलाई प्राप्त गरी कार्यालयमा दर्ता गराएर दर्ता रसिद सेवाग्राहीको ह्वाट्स एपमा पठाउने व्यवस्था गर्न सकिन्छ ।
यसो गर्दा हुलाकको ३० प्रतिशत व्यवसाय विस्तार हुने तथा नागरिकलाई प्रभावकारी रूपमा दुईतर्फी सेवा प्रवाह गर्न सकिन्छ । त्यसैगरी विभिन्न कार्यालय तथा संस्थाहरूले प्रत्येक दिन नगद ल्याएर हुलाकमा आई पत्र तथा पार्सल दर्ता गर्नु पर्ने वर्तमान व्यवस्थालाई झन्झटिलो मानेका कारण हुलाकबाट चिठीपत्र तथा सामान दर्ता गर्ने सङ्ख्या घटेको अनुमान गरिएको छ । आउँदा दिनमा हुलाक कार्यालयले ती संस्था तथा कार्यालयहरूसँग सम्झौता गरी उधारो सेवा प्रवाह गर्ने र मासिक रूपमा भुक्तानी माग गर्न सक्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने देखिन्छ । यसो भएमा हुलाकको थप २० प्रतिशत व्यवसाय विस्तार हुने देखिन्छ ।
एसएमएस नोटिफकेसन
हुलाकमा दर्ता गरिएका चिठीपत्र तथा सामग्रीहरूको अवस्थाका बारेमा सेवाग्राहीलाई पटक पटक जानकारी आउने गरी हुलाकको आइपीएस प्रणालीमा इन्ट्री हुनेबित्तिकै सेवाग्राहीको मोबाइल नम्बरमा एसएमएस आउने गरी सफ्टवेयरको प्रबन्ध गर्नु पर्ने देखिन्छ ।
प्रचारप्रसार, बजार विस्तार तथा अनुसन्धान
विगतमा सूचना तथा सञ्चारका साथै वस्तु तथा सामान आदनप्रदानको एक मात्र भरपर्दो निकायको रूपमा रहेको हुलाक सेवा आज आएर आफ्नो नयाँ भूमिकाको खोजीमा रहेको छ । हुलाकले चिठीपत्रका साथै वस्तु तथा सेवा बजारमा प्रवेश गरेर संस्थामा व्यावसायीकरण र सेवामा विविधीकरण नीति अङ्गाल्नुका साथै नवीन परिवेशमा हुलाकले प्रदान गर्ने सेवाका बारेमा पत्रपत्रिका, रेडियो, एफएम तथा सामाजिक सञ्जालको प्रयोग, विभिन्न चर्चित कलाकारलाई पोष्टल एम्वेस्डरको प्रयोग जस्ता विभिन्न उपायहरू अवलम्बन गरी प्रचारप्रसार गर्नु पर्ने देखिन्छ । हाल आएर नेपाल हुलाकले आफ्नो दैलोमा आउने सेवाग्राहीलाई मात्र सेवा प्रदान गरेको छ । परिवर्तित परिवेशमा विश्वका हुलाकहरूले गरेको व्यावसायीकरण तथा विविधीकरणलाई मध्यनजर गरेर नयाँबजारको बारेमा सोच्नु पर्दछ । परिवर्तित विश्व परिवेशअनुसार नेपाल हुलाक सेवाको बजार विस्तार र अनुसन्धानसम्बन्धी काम गर्नको लागि हुलाक सेवा विभागमा बजार व्यवस्था तथा व्यावसायिक अनुसन्धान शाखा स्थापना गरी उक्त शाखामा व्यापार तथा बजारशास्त्र अध्ययन गरेका जनशक्तिको व्यवस्थासमेत गर्नु पर्ने देखिन्छ ।
नेपाल हुलाक बहुसेवा कम्पनी सञ्चालन
देशभरका सबै स्थानीय तहमा संरचना विस्तार भएको र जनशक्तिलाई दक्ष बनाई जापान हुलाकले सञ्चालन गरेका जापान पोष्ट कम्पनी, जापान पोष्ट बैंक कम्पनी तथा जापान पोष्ट इन्स्युरेन्स कम्पनी जस्तो विकास गरी व्यावसायीकरण र सेवामा विविधीकरण गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ । नेपाल हुलाकले बहुसेवा कम्पनी सञ्चालन गरेर विभिन्न आयआर्जनमूलक सेवाहरू सुचारु गर्न सकिने सम्भावना देखिन्छ । हुलाक बैंँकलाई आधुनिक प्र्रविधिमैत्री र पूर्ण रूपमा डिजिटल बनाई नेपालभरका सबै हुलाक कार्यालयमा हुलाक बैंक सञ्चालनमा ल्याउन सकिन्छ ।
हुलाक बैंँकमा दैनिक बचत सेवा, सामाजिक सुरक्षा भत्ता सेवा, किसान बचत सेवा, नारी बचत सेवा जस्ता अन्य सेवा विस्तारका साथै लघु बचत तथा ऋण कार्यक्रम सञ्चालन गर्न सकिन्छ । हुलाक वित्तीय सेवा कम्पनीअन्तर्गत हुलाक बीमा सेवाको सुरुवात गरेर देशभर रहेका हुलाकका कर्मचारीमार्फत गाउँ सहर सबैतिर जीवन तथा निर्जीवन बीमाका कार्यक्रम सञ्चालन गर्न सकिन्छ । भारत जापान जस्ता धेरै देशका हुलाकले यी सेवाहरू लागू गरेर सफलता हासिल गरेका छन् ।हुलाक कार्यालयमार्फत हुलाक रेमिट सेवा, हुलाक पर्यटन सेवा(पर्यटक गाइड र होमस्टे), हुलाक सुपथ पसल सेवा, हुलाक अनलाइन सपिङ सेवा सञ्चालन गर्न सकिन्छ । त्यसैगरी हुलाक वस्ती विकास तथा आवास सेवा, हुलाक प्रसाद तथा टिका सेवा, हुलाक कोचिङ तथा काउन्सिलिङ सेवा जस्ता अनेकौँ आयमूलक व्यवसाय तथा सेवा सञ्चालन गर्नु पर्ने देखिन्छ । यसो गरेमा नेपालका सबै स्थानीय तहमा रहेका हुलाका संरचना तथा जनशक्तिको पूर्ण उपयोग भई उत्प्रेरण तथा मनोवल बढ्नुका साथै सर्वसुलभ नागरिक सेवामार्फत राज्यको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
शिक्षा तथा परीक्षासम्बन्धी सेवा
नेपाल सरकारको मातहतमा रहेका त्रिभुवन विश्व विद्यालय, नेपाल संस्कृत विश्व विद्यालय, कृषि तथा वन विज्ञान विश्व विद्यालय, खुला विश्व विद्यालय, काठमाडौँ विश्व विद्यालय, पोखरा विश्व विद्यालय, पूर्वाञ्चल विश्व विद्यालय, सुदूरपश्चिमाञ्चल विश्व विद्यालय, मध्यपश्चिमाञ्चल विश्व विद्यालय, लुम्बिनी बौद्ध विश्व विद्यालय लगायतका सबै विश्व विद्यालयहरूका परीक्षा फाराम ढुवानी तथा प्रमाणपत्रहरू निकालेर विद्यार्थीको घर ठेगानामा पु¥याउने लगायतका कामहरू नेपाल हुलाक सेवाले गर्न सक्ने देखिन्छ । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका परीक्षा नियन्त्रण कार्यालयहरू, सीप विकास तथा व्यवसायिक शिक्षा परिषद् र अन्तर्गतका कार्यालय, शिक्षक सेवा आयोग, जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइका परीक्षा फाराम ढुवानी तथा प्रमाणपत्रहरू निकालेर विद्यार्थीको घर ठेगानामा पु¥याउने लगायतका कामहरू नेपाल हुलाक सेवाले गर्न सक्ने देखिन्छ । माथि उल्लेखित सबै निकायका खाली तथा विद्यार्थीहरूले लेखिसकेका उत्तरपुस्तिहरूका ढुवानी गर्ने काम, जनक शिक्षा सामाग्री केन्द्रमार्फत विद्यालयमा वितरण गरिने पाठ्यपुस्तक ढुवानीको कामसमेत नेपाल हुलाक सेवामार्फत गर्दा नेपालका सबै जिल्ला र स्थानीय तहसम्म रहेका हुलाकका जनशक्तिको सक्रियता बढ्नुका साथै नेपाल सरकारको राजस्व वृद्धिमा टेवा पुग्ने देखिन्छ ।
नेपाल राजपत्रको ग्राहक वृद्धि तथा ढुवानी सेवा
नेपालभर रहेका संघ, प्रदेश तथा स्थानीय तहका कार्यालय, शिक्षण संस्था, कानुन व्यवसायी तथा अन्य इच्छुक व्यक्तिहरूलाई नेपाल राजपत्रको नियमित ग्राहक बनाई ति–ति निकायहरूमा नियमित रूपमा राजपत्र पु¥याउने काम नेपाल हुलाक सेवामार्फत गर्दा नेपाल सरकार मातहतको मुद्रण विभागको व्यवसाय वृद्धिका साथै नेपाल हुलाक सेवाको काम वृद्धि भई समग्रमा नेपाल सरकारको राजस्व वृद्धिमा टेवा पुग्ने देखिन्छ ।
अस्पताल तथा प्रयोगशालाका नमुना ढुवानी सेवा
नेपालभरी रहेका विभिन्न संघीय, प्रादेशिक अस्पताल, प्रयोगशालाले स्थानीयस्तरमा जनशक्ति र मेसिनको अभावका कारण प्रशिक्षण गर्न नसकेका आम नागरिकका रगत, दिशा, पिसाव, खकार जस्था नमुनाहरू काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतका अन्य उच्चकोटीका प्रयोगशालामा पठाएर रिपोर्ट मगाउनु पर्ने रहेछ । यस्ता खालका सबै नमुनाहरू दु्रत हवाई डाँक सेवामार्फत सबै प्रदेश तथा ठूला सहरमा हुलाक कार्यालयबाट ढुवानी गर्ने कामको सुरुवात गर्दा संघीय, प्रादेशिक अस्पताल तथा प्रयोगशालालाई नागरिक सेवा प्रवाहमा सहजीकरण हुनुका साथै नेपाल सरकारको राजस्व वृद्धिमा टेवा पुग्ने देखिन्छ ।
विदेशमा रहेका नागरिकका लागि सेवा
वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय लगायतका कामको सिलसिलामा अहिले नेपालका करिब सत्तरी लाख नेपालीहरू विदेशमा रहेको अनुमान छ । यसरी विदेशमा रहेका नेपालीले विदेशबाट आफ्नो घरमा कपडा, मोबाइल, पुस्तक लगायतका सामानहरू पठाउने तथा नेपालबाट पनि विभिन्न स्थानीय परिकार पठाउने संस्कारको विकास गर्न सबै जिल्ला तथा स्थानीय तहमा रहेका हुलाकका कर्मचारीहरूले वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय लगायतका कामको सिलसिलामा विदेशमा रहेका मानिसको घरपरिवार पहिचान गरी विदेशबाट सामान मगाउने तथा नेपालबाट सामान पठाउने विषयमा परामर्श गरी सहजीकरण गरेमा हुलाकमार्फत सामान आदानप्रदान गर्ने क्रममा वृद्धि भई नागरिक सेवा प्रवाहमा सहजीकरण हुनुका साथै राजस्व वृद्धि भई राज्यको अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ ।
नागरिक सेवा केन्द्र सञ्चालन
नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभरिका स्थानीय तह हुलाक कार्यालयहरूमा इन्टरनेट सुविधा र कम्प्युटर प्रिन्टरको व्यवस्था गरिदिने प्रबन्ध मिलाउनु पर्ने देखिन्छ । यसले स्थानीय हुलाक कार्यालयमार्फत नागरिकका राष्ट्रिय परिचयपत्र, मतदाता नामावली लगायतका विभिन्न किसिमका अनलाइनसम्बन्धी सेवाहरू सस्तो र सुलभ रूपमा प्रदान गर्न सकिने देखिन्छ । नागरिक सेवा केन्द्रमार्फत सबै स्थानीय तहमा रहेका युवाहरूलाई सर्वसुलभ रूपमा वेसिक कम्प्युटर, नेपाली तथा अंग्रेजी भाषाको प्रशिक्षण, विभिन्न किसिमका सेवा आयोग तयारीसम्बन्धी परामर्श सेवासमेत दिन सकिने देखिन्छ । यसले गर्दा घरदैलोबाट सर्वसुलभ बहुसेवा पाएको कारण आम नागरिकमा सरकारी निकाय तथा समग्रमा सरकारप्रतिको अपनत्व विकास हुने देखिन्छ ।
शुल्क तथा दररेट पुनरावलोकन र लचकता
हाल नेपालको हुलाक सेवामा कार्यान्वयनमा रहेको शुल्क तथा राजस्व परम्परागत दरको भएकाले यसमा परिवर्तन गरी समय सान्दर्भिक बनाई वर्तमान बजारमा प्रतिस्पर्धा गर्नसक्ने खालको बनाउनु पर्दछ । वर्तमान समयमा बैंंक तथा वित्तीय संस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले वर्षभरि चिठीपत्र तथा सामान ढुवानीका लागि खुला कोटेशन आह्वान गर्ने भएकोले नेपाल हुलाकले यस्ता प्रतिस्पर्धामा भाग लिने प्रयोजनको लागि हुलाक वस्तु ढुवानी दररेटका प्रावधानलाई लचक बनाउनु पर्ने देखिन्छ । अर्कोतिर नेपालका प्रायः जिल्लामा सामान ढुवानीको काम निजी क्षेत्रका ट्रान्सपोर्ट कम्पनीहरूले गर्ने गर्दछन् । नेपाल हुलाकले ढुवानी दररेट पुनरावलोकन गरी आफ्ना ट्रक चल्ने जिल्लामा ट्रान्सपोर्ट कम्पनीहरूको भन्दा सस्तो दरमा सामान ढुवानी गर्ने काम तत्काल सुरु गर्नुपर्ने देखिन्छ ।
कानुनी तथा नीतिगत सुधार
हालसम्म हुलाक सेवा विसं २०१९ मा निर्मित कानुन, कार्यविधि र निर्देशिकाबाट निर्देशित छ । विगतमा नियमित सञ्चालन भई हाल अलमलमा परेका सेवालाई रोक्न, समयानुकूल सेवा थप गर्न र संरचना परिवर्तन गर्नका लागि आवश्यक कानुन निर्माण गर्न र विद्यमान कानुन विश्व परिवेश अनुकूल तथा समयसापेक्ष संशोधन हुनु आवश्यक छ । नयाँ संरचना वा कार्यढाँचामा जानुअघि राज्य र सरकार निरन्तर भएजस्तै राज्यले विगतदेखि गर्दै आएका कामसम्बन्धी दायित्वलाई पूर्णता दिनका लागि केही समय आवश्यक पर्छ नै । तसर्थ लचकता र सङ्व्रmमणकालीन व्यवस्थापनको प्रबन्धसमेत कानुनमा गरिनु पर्ने देखिन्छ ।
निष्कर्ष
गौरवशाली इतिहास भएको नेपाल हुलाकमा केन्द्रदेखि स्थानीय तहसम्म संगठित जनशक्ति रहेको अवस्था छ । नेपाल हुलाक एक मात्र त्यस्तो सरकारी संरचना हो जसले नागरिको घरदैलोमा पुगेर सेवा प्रवाह गर्दछ । यसलाई अझै निरन्तरता दिँदै अझ परिष्कृत जनउत्तरदायी बनाउनु पर्ने देखिन्छ । समयसापेक्ष रूपमा व्यावसायीकरण, विविधीकरण, आधुनीकरण जस्ता उपायहरू अवलम्बन गर्दै देशभरि फैलिएको सांगठनिक संरचनालाई चलायमान बनाउन बहुसेवा केन्द्रको रूपमा रुपान्तण गर्न सकेमा नेपाल हुलाकले आउँदा दिनमा सेवामूलक कार्यका साथै व्यवसायमूलक कार्य बैंक, बीमा, रेमिटान्स, हाउजिङ्ग, कोचिङ एण्ड काउन्सिलिङ लगायतका कामको सुरुवात गरेर देशको अग्रणी रोजगारदाता तथा राजस्व सङ्कलक संस्थाको रूपमा आफ्नो पहिचान बनाउने सक्छ । यसले गर्दा समग्रमा नेपालको पहिचान, रोजगारी, विकास तथा समृद्धिमा टेवा पुग्ने देखिन्छ ।
(लेखक पाण्डे हुलाक निर्देशनालय सुर्खेतमा हुलाक निर्देशकका रूपमा कार्यरत छन् ।)









प्रतिक्रिया दिनुहोस्