डडेल्धुरा ।
डडेल्धुरामा १२ वर्षपछि पुनः हाटबजार सञ्चालनमा आएको छ । अमरगढी नगरपालिका–५ स्थित उद्योग वाणिज्य संघको कार्यालय परिसरमा २०७० सालमा पहिलोपटक हाटबजार सञ्चालन गरिएको थियो । करिब दुई वर्षसम्म हाटबजार सञ्चालन गरिए पनि पछि बन्द भएको थियो । हाल बसपार्क पछाडिको खुला स्थानमा पुनः कृषि ज्ञान केन्द्र, अमरगढी नगरपालिका र डडेल्धुरा उद्योग वाणिज्य संघको समन्वयमा हाटबजार सञ्चालनमा आएको हो ।
संघका अध्यक्ष दिपक महताका अनुसार १२ वर्षअघि दुई वर्षसम्म सञ्चालनमा आएको हाटबजार व्यवस्थित गर्न नसक्दा बन्द भएको थियो । वर्षा हुँदा उक्त क्षेत्र हिलाम्य हुने गरेकै कारण हाटबजार बन्द हुन पुगेको हो । बजार नजिकै भए पनि करिब १०० मिटर सडक र हाटबजार स्थल पक्की बन्न नसक्दा हिलाम्मे हुने भएकै कारण बजार बन्द हुन पुगेको थियो । हाल भने पक्की सडक बाटो निर्माण भइरहेको छ र बजार व्यवस्थित पनि भइरहेको छ ।
कृषि उपजको सहज बिक्री–वितरण तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले कृषि हाटबजार सञ्चालनमा ल्याइएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । उनका अनुसार कृषि थोक तथा हाटबजार सञ्चालक समितिको आयोजनामा र कृषि क्षेत्रमा सरोकार राख्ने विभिन्न निकाय तथा उद्योग वाणिज्य संघको समन्वयमा हाटबजार सञ्चालन गरिएको हो ।
कार्यालय प्रमुख पनेरुका अनुसार हाटबजारमा जिल्लाका कृषक तथा व्यापारीहरूले कृषि उपज, वनपैदावार, पशुजन्य वस्तु, घरेलु उत्पादन तथा हस्तकलाका सामग्रीहरू किनबेच गर्न सक्नेछन् । यसले स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउनाका साथै उपभोक्तालाई ताजा तथा स्थानीय सामग्री सहज रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्