धनगढी ।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले आफ्नो संगठन देशको आन्तरिक सुरक्षामा मजबुद पहरेदार भए पनि आफ्नो सुरक्षामा सम्झौता गर्न पुगेको बताएका छन् । कैलालीको अत्तरियामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयको २५औँ स्थापना दिवसमा सम्बोधन गर्दै आईजीपी अर्यालले यस्तो बताएका हुन् ।
‘आन्तरिक सुरक्षाको मजबुद पहरेदार सशस्त्र प्रहरी बल नेपाल आफ्नो सुरक्षामा भने कहिलेकाहीँ कम्प्रमाइज भएको देखिन्छ,’ आईजीपी अर्यालले भने, ‘अस्ती भर्खर सीमा सुरक्षा गुल्म खक्रौलाभित्र पसेर गैरकानुनी हर्कत भएको छ । यस्तो अवस्थामा बल प्रयोग गर्ने कुरामा कानुनले छेकेको छैन । संगठनले यस्ता विषयलाई सिरियसली रूपमा हेरेको छ ।’ आईजीपी अर्यालले अपराधी र तस्करलाई माया गर्ने नभई कानुन अनुसार कारबाही गर्नुपर्ने बताए ।
गुल्ममा आक्रमण हुँदा पनि फोटो खिचेर बस्ने सशस्त्र प्रहरीका अफिसरमाथि निलम्बनससहितको कारबाही हुने आईजीपी अर्यालले बताए । आक्रमणमा संलग्नमाथि पनि अभद्र व्यवहारको मुद्दा मात्रै लगाइएको भन्दै आईजीपी अर्यालले नेपाल प्रहरीसँग पनि असन्तुष्टि पोखे ।
‘अहिलेसम्म एक जना मात्रै पक्राउ परेको छ, उनीमाथि पनि अभद्र व्यवहारको मात्रै मुद्दा चलेको छ भन्ने मैले सुनेँ,’ आईजीपी अर्यालले भने, ‘हातहतियार खरखजना, लुटपाट र सरकारी युनिटमा सुरक्षा फौजमाथि आक्रमण गर्न गएको भन्दै मुद्दा चलाउन हुन्छ भन्ने आग्रह छ । यसलाई संगठनले गम्भीर रूपमा लिएको छ ।’









प्रतिक्रिया दिनुहोस्