पछिल्लो समय नेपाली समाज अत्यन्तै क्रूरता, अमानवीयता तथा असहिसुष्णातिर धकेलिइरहेको देखिन्छ । पछिल्ला समयमा देशका विभिन्न जिल्लाहरूमा महिलाहरूमाथि विभिन्न किसिमका हिंसा हुने घटनाहरूमा वृद्धि हुँदै गएका पाइन्छन् । विभिन्न कारणले महिलामाथि हिंसा हुने, उनीहरूको ज्यान समेत जाने जस्ता घटनाहरूले स्तब्ध बनाएको छ । केही दिनअघि सुर्खेतमा एक नाबालिकामाथि भएको बलात्कापछिको हत्या घटना सेलाउन नपाउँदै बाँकेको नेपालगन्जमा सोच्न पनि नसकिने गरि अर्को घटना घटेको छ । नेपालगन्जमा आफ्नै प्रेमी भनिने व्यक्तिबाट एक युवतीलाई जिउँदै जलाएर हत्या गरिएको अत्यन्तै पीडादायी, अत्यन्तै दुःखद घटना बाहिर आएको छ । आखिर समाज किन सामाजिक हुन सकिरहेको छैन् ? दिनानुदिन किन महिलामाथि हिंसाका घटनाहरू घटिरहेका छन् ? किन महिलाको ज्यान गइरहेको छ ? किन राक्षसी प्रवृत्तिले समाजमा प्राथमिकता पाउँदै गएको छ ? के मानवमा मानवीयता हराउँदै गएको हो ? के मानव दानवमा परिणत भएको हो ? अत्यन्तै गम्भीर भएर सबैले सोच्न आवश्यक छ । महिलामाथि हुने कुनै पनि हिंसाविरुद्ध समाज बोल्न जरुरी छ । कानुनले निर्दिष्ट गरेका व्यवस्थामा टेकेर सरोकारवाला पक्षले पीडितलाई तत्काल न्याय दिन जरुरी छ ।
न्याय दिन ढिलाइ गरिनु पनि पीडितमाथि थप अन्याय गर्नु हो । शनिबार राति करिब १२ बजे नेपालगन्ज वडा नम्बर १२ कोरियनपुरमा एउटा सनसनीपूर्ण घटना भयो । सडकमा तीनतिर बाटो रहेको चोकमा एक जना महिलाको जलेको अवस्थामा रहेको शरीर स्थानीयहरूले देखे र प्रहरीलाई खबर गरे । प्रहरी धेरै टाढा पनि थिएन । उक्त घटनास्थलबाट करिब दुई सय मिटर पर भेरी प्राविधिक शिक्षालयको गेटमा प्रहरीको बिट छ । प्रहरी आएर ती जलेकी महिलालाई उठाएर अस्पताल लगियो र अस्पतालमा आइतबार बिहान १ः२० बजे मृत घोषणा गरियो । अत्यन्तै क्रूरताका साथ गरिएको यो हत्यालाई जति भत्र्सना गरिए पनि कम हुन्छ । महिलाको अनुहार नचिनिने अवस्थामा रहेकोले प्रहरीलाई पनि खनाखत गर्न कठिन भयो । आइतबार मध्यान्हतिर मात्रै प्रहरीले खनाखत ग¥यो । जिउँदै जलाउँदा ती युवतीले कसरी सहन गर्न सकिन् होली ? मृतक युवतीका आफन्तहरूले जिउँदै जलाएर सडकमा ल्याएर शव फालेको आरोप लगाउँदै आएका छन् । आफन्तले किटानी जाहेरीसहित प्रहरीमा उजुरी गरेका छन् भने प्रहरीले जाहेरीअनुसार तीन जना व्यक्तिलाई पनि पक्राउ गरेको जनाएको छ । अहिले आफन्तहरूले आरोपीलाई कानुनअनुसारको तत्काल कारबाही गर्न माग गरिरहेका छन् । उनीहरूले विभिन्न किसिमबाट दबाब सिर्जना गरिरहेका छन् ।
यसका विरुद्धमा विभिन्न सामाजिक संघसंस्थाहरूले पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीको माग गर्दै प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएका छन् । कानुनको कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका प्रहरी प्रशासनले यथाशीघ्र छिटो छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन जरुरी छ र कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनु पर्दछ । समाजमा अबदेखि यसप्रकारका अमानवीय व्यवहार र क्रूरताका घटना दोहोरिन नदिनका लागि सरोकारवालाले आवश्यक पहलकदमी लिन जरुरी छ । प्रहरी प्रशासनले रातदिन सुरक्षा गस्ती बढाउन आवश्यक छ । समाजका हरेक नागरिक आफैँमा पनि सजग हुनु आवश्यक छ । यसप्रकारका दुःखद घटनाहरू दोहोरिन नदिनका लागि सबै पक्ष सचेत हुनु पनि पर्दछ । समाजमा सचेतनाको खाँचो देखिन्छ । दोषीलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न आवश्यक छ । मरेर जाने व्यक्ति फर्केर आउँदैन्, शरीरको क्षतिपूर्ति हुन सक्दैन् । तर समाजमा फेरि पनि यसप्रकारका घटनाहरू नदोहोरिउन् भनेर सचेत हुन र गराउन आवश्यक छ । साथै दोषीमाथि कडा कारबाही गरि पीडितलाई सम्बोधन हुने गरि समयमै न्याय दिन जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्