बालेन सरकारका अगाडी देखापरेका चुनौती र अवसरहरू



चुनौतीहरू बग्रेल्ती भए पनि अवसरहरू पनि त्यत्तिकै देखिन्छन् । प्रष्ट बहुमतको सरकार भएकोले राम्रा कामहरू गर्नमा कसैले छेकबार लाउन सक्दैनन् । धेरै काममा एकैपटक हात हाल्नुभन्दा जनतालाई लाभान्वित हुने कामहरू थोरैबाट पनि सुरुवात गर्न सकिन्छ । जनताले प्रष्ट बहुमत दिएकाले जनताको हितमा काम गर्न खुट्टा कमाउनु पर्दैन । जनता जहिले पनि निर्णायक हुन्छन् ।

चिन्तामणि घिमिरे

५०८२ चैत १३ गते मध्याह्नको समयमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा पन्ध्र सदस्यीय सानो आकारको मन्त्रीमण्डलको गठन भएको छ । १३ गतेदेखि नै प्रधानमन्त्री र मन्त्रीहरूले आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेका छन् । मन्त्रीपरिषद्को पहिलो बैठक पनि बसिसकेको छ । उक्त पहिलो बैठकले सुशासन र प्रशासनिक सुधारमा जोड दिने निर्णय गरेको छ । मन्त्रीमण्डलमा युवाहरूको वर्चस्व रहेकोे देखिन्छ । हुन त रास्वपाका अत्यधिक सांसदहरू युवा उमेरका नै रहेका देखिन्छन् । झन्डै दुइतिहाइको नजिक रहेको रास्वपाको सांसद सदस्यहरूको सङ्ख्या एउटैे दलको यति रहेको नेपालको इतिहासमा यो दोस्रो उदाहरण हो । योभन्दा पहिला विसं २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेस एक्लैले प्रष्ट दुईतिहाइ सिट हासिल गरेको थियो । त्यतिबेला प्रतिनिधिसभाको जम्मा सदस्य सङ्ख्या १०९ थियो । जसमा नेपाली काँग्रेस एक्लैले ७४ सिट हासिल गर्न सफल भएको थियोे । अहिलेको यो सरकारसँग दुईतिहाइको लागि दुई सिट पुग्दैन । त्यसकारण यो सरकार प्रष्ट बहुमतको सरकार हो । यो सरकारसँग देश र जनताको हितको लागि काम गर्ने थुप्रै चुनौती र अवसरहरू रहेका छन् । हुन त हरेक चुनौती अवसर र हरेक अवसर चुनौती हुन्छ । तैपनि हरेक चुनौतीलाई अवसरमा बदल्न सकिन्छ ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र उनको टिमलाई रहेकोे पहिलो चुनौती भनेको आफ्नै पार्टीलाई एकै लयमा हिँडाउन सक्नु रहेकोे देखिन्छ। दलभित्र विभिन्न विचार भएका व्यक्तिहरू हुन्छन् । हरेकका आआफ्ना स्वार्थहरू रहेका हुन्छन् । ती हरेक स्वार्थलाई चिरेर दललाई एकताबद्ध बनाउन सक्नु नै पहिलो चुनौती रहेकोे हुन्छ । मिडिया र विपक्षी दलले सानातिना कमजोरीमा खेल्न सक्छन् । कमजोरीलाई सच्याएर अगाडी बढनु र थप गल्ती कमजोरी हुनबाट बच्नु नै सरकारका लागि निकै ठूलो चुनौती रहेकोे देखिन्छ । आफूभित्रको एकताले बाहिरको प्रभावलाई रोक्न सक्छ । यो सरकारको दोस्रो चुनौती भनेको भ्रष्टाचारीहरूको सम्पत्ति छानबिन गर्नु र भ्रष्टाचारीलाई कार्बाहीको दायरामा ल्याउनु रहेको देखिन्छ । विसं २०४७ सालदेखि यताका सरकारी सेवासुविधा प्राप्त गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरि कानुनको दायराभित्र ल्याउनु । स्रोत नखुलेको सम्पत्तिलाई सार्वजनिक गरि विकासको काममा लगाउन सकिन्छ । भ्रष्टाचारसम्बन्धी पुराना फाइलहरू खोतल्नुपर्ने हुन्छ । यसो गर्नको लागि ठूलो साहस चाहिन्छ । यो पनि सरकारका लागि दोस्रोे चुनौती मानिन्छ । तेस्रो चुनौती भनेको कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नेमा नै रहेको छ । पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीले एमाले र काँग्रेसभित्र तरंग सिर्जना गरेको छ । विपक्षी दलले सदन, सडक र न्यायालयमार्फत संघर्ष गर्ने बताएका छन् । सरकारले विपक्षी दलहरूको सामना कसरी गर्छ ? तत्काल सरकारका लागि यो चुनौती रहेकोे छ ।

चौथो चुनौती भनेको चुनावी वाचापत्रलाई लागू गर्नमा नै रहेको देखिन्छ । नेपालमा विभिन्न स्वार्थ समूहहरूको बोलवाला रहेको देखिन्छ । ती स्वार्थ समूहहरूले नेतृत्वलाई घेराबन्दी गर्नसक्ने र आर्थिक बार्गेनिङ गरेर फसाउन सक्ने देखिन्छ । यो घेरा तोडेर बाहिर आउने हिम्मत गर्नुपर्छ। नेपालको राज्यसंयन्त्रमा अहिलेसम्म आउँदा बिचौलियाहरू हावी रहेको देखिन्छ । विगतमा प्रधानमन्त्रीको बेडसम्म बिचौलियाको पहुँच पुगेको भन्ने समाचार सार्वजनिक भएको थियो । अहिलेका प्रधानमन्त्रीले बिचौलियाको पहुँचलाई कसरी रोक्छन् भन्ने कुरा व्यवहारद्वारा प्रष्ट हुने कुरा हो। पाँचौँ चुनौती भनेको कर्मचारीतन्त्र रहेकोे देखिन्छ । आफ्नो अनुकूल नहुने भएपछि कर्मचारीले असहयोग गर्ने गर्दछन् । नेपालको कर्मचारीतन्त्रमा सुधारको आवश्यकता रहेको देखिन्छ । आफ्नो स्वार्थलाई मद्दत पुग्ने गरि नीतिनियम बनाउन सरिक हुन्छन् । कर्मचारीतन्त्रभित्र दलीय प्रभाव अत्यन्तै बलियो छ । कर्मचारीतन्त्र भनेको स्थायी सरकार हो । सरकार परिवर्तन हुन्छ तर कर्मचारी रहिरहन्छ । २०४७ सालदेखि यता थुप्रैपटक सरकार बने । पैँतिस वर्षमा तीस वटा प्रधानमन्त्री बने । तर कर्मचारीतन्त्र ज्युँका त्युँ रह्यो । सरकारले कर्मचारीलाई सामञ्जस्यमा ल्याएर काम गर्न त्यति सजिलो छैन । तर सरकारले चाहेमा असहयोग गर्ने कर्मचारीलाई कार्बाहीको दायरामा ल्याउन सक्छ ।

सरकार र कर्मचारीतन्त्र बीचको सामञ्जस्यता कसरी मिलाउन सकिन्छ वा यो कर्मचारी र प्रशासनिक संयन्त्रलाई कसरी सुधार गर्ने भन्ने समस्या रहेको छ । चुनौतीहरू बग्रेल्ती भए पनि अवसरहरू पनि त्यत्तिकै देखिन्छन् । प्रष्ट बहुमतको सरकार भएकोले राम्रा कामहरू गर्नमा कसैले छेकबार लाउन सक्दैनन् । धेरै काममा एकैपटक हात हाल्नुभन्दा जनतालाई लाभान्वित हुने कामहरू थोरैबाट पनि सुरुवात गर्न सकिन्छ । जनताले प्रष्ट बहुमत दिएकाले जनताको हितमा काम गर्न खुट्टा कमाउनु पर्दैन । जनता जहिले पनि निर्णायक हुन्छन् । राम्रो काम गरे पुरस्कृत गर्छन् भने नराम्रो काम गरे मतदानद्वारा दण्डित पनि गर्छन् । यो चुनावले धेरै पाठ सिकाएको छ । यो सरकारलाई देश र जनताको हितमा काम गर्ने ठूलो अवसर मिलेको छ । त्यसकारण सरकारले देश र जनताको पक्षमा काम गर्ने हिम्मत र साहस गर्नुपर्छ । राम्रो काम गरेमा जनताले साथ दिन्छन् नत्र भने दण्डित गर्छन् । सरकार बन्दैगर्दा आलोचना सुरु भएको छ । अहिले नै त्यसो गर्ने हतारो गर्नु हुँदैन । बरु सरकारलाई जनताको पक्षमा हित हुनेगरि राम्रो काम गर भन्नुपर्छ । राम्राराम्रा कामको सुझाव दिनुपर्छ । नराम्रो काम गरेमा खबरदारी गर्नु पर्छ । बहुमत दिइहलिम् अब आगे सरकारको मर्जी भनेर जनता चुप लाग्नु हुँदैन । जनता सधैँभरी जागा रहनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार