‘पैसा बाँडिएको’ विषयमा आरोप प्रत्यारोप



धनगढी ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि उत्पन्न भएको ‘आर्थिक लेनदेन’सम्बन्धी विवादले स्थानीय राजनीति तताएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आले र नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाह (मनु)बीच आरोप प्रत्यारोपको श्रृंखला चलिरहँदा यस प्रकरणले पार्टीभित्रै पनि तरंग पैदा गरेको छ ।

निर्वाचनमा तेस्रो स्थानमा रहेका आलेले आफूले कसैलाई पैसा नबाँडेको स्पष्ट पार्दै आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गरेका छन् । अर्कोतर्फ काँग्रेस उम्मेदवार शाहले भने आफ्नो दाबीलाई पुष्ट्याउने भन्दै ५७ जना काँग्रेस कार्यकर्ताले आलेसँग आर्थिक सहयोग लिएको सूची आफूलाई प्राप्त भएको बताएका छन् । यही विषय अहिले सार्वजनिक बहसको केन्द्र बनेको छ ।

काँग्रेसका प्रदेश महामन्त्रीसमेत रहेका शाह (मनु)ले सार्वजनिक रूपमा बोलेपछि विवादले व्यापक चर्चा पायो । उनका अनुसार निर्वाचनअघि नै तेस्रो स्थानमा रहेका उम्मेदवारले आफूसँग भेटेर एउटा सूची दिएका थिए, जसमा काँग्रेसकै ५७ जना नेता–कार्यकर्ताले आर्थिक सहयोग लिएको उल्लेख गरिएको थियो ।

शाहले भनेका थिए, ‘तपाईँप्रति मेरो सद्भाव छ भन्दै तपाईँका यी मान्छेले मबाट आर्थिक सहयोग लिनुभएको हो भनेर उहाँले भन्नुभयो ।’ यद्यपि उनले उक्त सूची सार्वजनिक गरेका छैनन्, जसका कारण आरोपको विश्वसनीयता र उद्देश्यबारे प्रश्न उठ्न थालेको छ । आरोपपछि प्रतिक्रिया दिँदै प्रेमबहादुर आलेले यस्तो कुनै सूची आफूले नदिएको र आरोप पूर्ण रूपमा मनगढन्ते भएको बताएका छन् ।

उनले आफू पहिलोपटक कैलालीमा चुनाव लडेको र त्यहाँका काँग्रेसका ५७ जना कार्यकर्तालाई चिन्ने समेत अवस्था नरहेको उल्लेख गरे ।
‘म डोटीबाट राजनीतिमा सक्रिय भएको व्यक्ति हुँ । कैलालीमा पहिलोपटक चुनाव लड्दा यहाँका सबै कार्यकर्तालाई चिन्ने कुरा सम्भव छैन,’ उनले भने, ‘यदि मैले सूची नै दिएको हुँ भने त्यसलाई सार्वजनिक गर्न म चुनौती दिन्छु ।’

उनको यो अभिव्यक्तिले विवादलाई झन् तीव्र बनाएको छ, किनकि अब ध्यान आरोप प्रमाणित गर्ने वा खण्डन गर्ने दिशातर्फ मोडिएको छ ।
आले निकट एक नेताका अनुसार निर्वाचनपछि आले र शाहबीच केही अनौपचारिक संवाद भएको थियो । उक्त संवादमा आलेले काँग्रेसभित्रको आन्तरिक गुटबन्दीका कारण आफूलाई सहयोग मिल्न सक्ने अनुमान गरेको बताएका थिए ।

उनले भनेका थिए, ‘काँग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण आरजु देउवा पक्षले सहयोग गर्ला भन्ने सोचेको थिएँ, तर न मलाई सहयोग भयो न तपाईँलाई नै मत गयो ।’ कैलाली–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्द विजयी भएका थिए । उनले ३१ हजार ९५३ मत प्राप्त गर्दै स्पष्ट अग्रता लिए । काँग्रेसका शाह ११ हजार ९५८ मतसहित दोस्रो स्थानमा रहे भने नेकपाका आलेले ७ हजार ८७६ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए ।

मत परिणामले देखाउँछ कि प्रतिस्पर्धा अपेक्षाकृत एकतर्फी रह्यो, जसले पराजित पक्षहरूमा समीक्षा र आत्ममन्थनको आवश्यकता झनै बढाएको छ । यस विवादले पार्टीको छवि प्रभावित हुन सक्ने देखेपछि नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिले औपचारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेको छ । जिल्ला सभापति नारायणदत्त भट्टले विज्ञप्ति जारी गर्दै आर्थिक लेनदेनसम्बन्धी आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनका अनुसार निर्वाचनअघि नै पार्टीले आफ्ना उम्मेदवारलाई जिताउन र समानुपातिक मत वृद्धि गर्न स्पष्ट निर्देशन दिएको थियो । निर्वाचनपछि सबै उम्मेदवारहरूलाई पराजयका कारण, अनुभव, सुझाव र आगामी रणनीति समेटिएको प्रतिवेदन पेश गर्न भनिएको छ । भट्टले विशेषगरी क्षेत्र नम्बर ५ का उम्मेदवार शाहलाई आफ्नो आरोप स्पष्ट पार्न र आवश्यक जिम्मेवारी लिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘यस्ता गम्भीर आरोप प्रमाणसहित प्रस्तुत हुनुपर्छ, नत्र यसले पार्टीभित्र अनावश्यक द्वन्द्व सिर्जना गर्न सक्छ ।’ विवाद अहिले दुई उम्मेदवारबीचको आरोप प्रत्यारोपमा सीमित छैन । यसले पार्टीभित्रको विश्वास, अनुशासन र आन्तरिक एकताको अवस्थाबारे पनि गम्भीर प्रश्न उठाएको छ । आर्थिक लेनदेन भएको हो भने त्यसले लोकतान्त्रिक प्रक्रिया र नैतिकताको उल्लंघन गर्दछ । र यदि आरोप झुटो हो भने त्यसले व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने काम गर्छ ।

पार्टीले विज्ञप्ति जारी गरेपछि नरनारायण शाह (मनु)ले लेखेका छन् – ‘मोबाइलमा नामका साथै केही जिम्मेवार व्यक्तिहरूसँग कुराकानी भएको कुरा आफूले देखेको साचो हो । तर अहिले मलाई प्रमाणको अभावमा नाम सार्वजनिक गर्न अप्ठ्यारो छ । त्यही पनि ति महानुभावहरूको विषयमा विभिन्न माध्यमद्वारा जानकारी लिने प्रयास गर्दैछु । कत्तिको सक्छु हेरौँ ? यसबाहेक अन्य उम्मेदवारसँग निकट रहेकाले पनि चाहेको खण्डमा हामीलाई सहयोग गर्ने तपाईँको पार्टीसँग सम्बन्धितहरूको नाम कुनै पनि बेला उपलब्ध गराउन सक्छु भनी फेसबुकमार्फत भनेकै छन् । हेर्दै जाउ ???’

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार