आज फागुन १५ गते । ४४औँ मगर दिवस । नेपालमा रहेका मगर समुदायले मगर दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेर यो दिवसलाई उल्लासमय वातावरणमा मनाउँदै छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार ४९८ रहेको छ, जुन कूल जनसङ्ख्याको ६.९ प्रतिशत हो । मगरहरू नेपालको तेस्रो ठूलो जनसङ्ख्या भएको जाति र सबैभन्दा ठूलो आदिवासी जनजाति समूह हुन् । यिनीहरू मुख्यतया मध्य पहाडी भेगका रैथाने हुन् । विशेषगरी पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, रूकुम, म्याग्दी, बागलुङ, रूपन्देहीलगायत ७७ वटै जिल्लामा मगरहरूको उपस्थिति छ । २०३९ साल फागुन १५ गते तनहुँ जिल्लाको दमौलीमा देशैभरिका मगरहरू सहभागी भई प्रथम राष्ट्रिय सम्मेलनमार्फत नेपाल मगर संघ स्थापना गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १५ गतेका दिनलाई मगर समुदायले मगर दिवसका रूपमा मनाउँदै आएको छ । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रूपमा मनाउन थालेको हो । प्रथम महाधिवेशन भएको आज ४३ वर्ष पूरा भएर ४४औँ वर्षमा प्रवेश गरेको छ ।
२०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरू विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ । मगरहरूको सांगठनिक रुपले गोलबन्द भएको दिनको रूपमा विश्वभरमा सांगठनिक पर्वको रूपमा मगर बस्ती बस्तीमा मनाउँदै आइरहेका छन् । मगर दिवसका अवसरमा मगर समुदायको बाक्लो बसोबास रहेका विभिन्न स्थानीय तहहरूले स्थानीय बिदा दिँदै आएको छन् । मगर समुदायले वर्षौँदेखि राज्यसँग मगर दिवसका अवसरमा राष्ट्रिय बिदा दिनुपर्ने माग गर्दै आएका छन् । राष्ट्रिय रूपमा सार्वजनिक बिदा नगरेर सरकारले राष्ट्रिय दिवसका रूपमा नलिएको र बेवास्ता गरेको मगर समुदायको गुनासो छ । फागुन १५ मगर समुदायलाई संगठित र सुसूचित गर्दै जातीय मौलिकतालाई जीवन्त राख्न प्रयत्न गरेको दिन भएकाले सार्वजनिक बिदा दिनुपर्ने संघको माग छ । संघले फागुन १५ मा सार्वजनिक बिदासँगै मगर समुदायको बाक्लो बसोबास रहेका प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन पनि माग गरेको छ । साथै विद्यालयमा मगर भाषामा पढाइ गर्न र नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न समेत संघले माग गरेको छ । राज्यको हरेक संरचना र क्षेत्रमा समानुपातिक समावेशी सिद्धान्त लागू हुनुपर्ने संघको धारणा छ ।
मगर दिवसमा एकापसको सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुत गर्दै मगरहरूको गुमेको राजनैतिक अधिकारहरू स्थापना गर्न, गुमेको मगरात भूमि पुनःस्थापना गराउन, भाषिक सांस्कृतिक अधिकारहरू सुनिश्चित गराउन, जातीय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउनेलगायतका सवालमा सशक्त आन्दोलन गर्नमा थप ऊर्जा र उमंग दिने गर्दछ । मगर समुदायले आफ्नो भाषा, भेषभुषा र संस्कृतिको संरक्षण गर्दै धुमधामका साथ राष्ट्रिय एकता दिवसका रूपमा मगर दिवस मनाउँदै आएको छ । नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक हो । यिनै विविधताबीच यहाँका विभिन्न धर्मावलम्बीहरूले आआफ्ना विभिन्न चाडपर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने नेपालीको आफ्नै सद्भावयुक्त परम्परा छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउँदै आएका छन् । एउटा धर्म मान्ने जाति सम्प्रदायले अर्को धर्म मान्ने जाति सम्प्रदायको चाडवाडहरूमा साझा भएर एकजुट भएर मनाउने प्रचलनले नेपालको सुन्दरता अझै बढाएको छ । समाजमा रहेका विभिन्न जातजाति, विभिन्न धर्मावली तथा सम्प्रदायले एकअर्काका चाडवाडहरू मिलेर मनाउँदा भाइचारा सम्बन्ध पनि नजिक बनाइरहेको हुन्छ । यसै समुदायभित्रको एक जाति मगर समुदायले मनाउँदै आएको एकता दिवस एवम् मगर दिवसको हार्दिक शुभकामना ।









प्रतिक्रिया दिनुहोस्