धनगढी ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नन्दबहादुर साउद (राजेन्द्र)ले आफ्नो विस्तृत चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकास तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै उनले क्षेत्रको समग्र विकासका लागि बहुआयामिक योजना अघि सारेका हुन् ।
साउदले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा युवादेखि वृद्धसम्मका आवश्यकता समेटिएको दाबी गरिएको छ । ‘सीपवान युवा, समृद्ध समाज’ भन्ने नारासहित उनले स्वदेशमै रोजगारी सिर्जना, युवाको सुरक्षित भविष्य सुनिश्चित गर्ने तथा श्रमको सम्मान र श्रमिकको सुरक्षालाई मजबुत बनाउने योजना अघि सारेका छन् ।
प्रत्येक वडामा एक सीपमूलक तालिम केन्द्र स्थापना गरी युवालाई व्यावसायिक तथा प्राविधिक सीप प्रदान गरिने उल्लेख छ । यसबाट वैदेशिक रोजगारीमा निर्भरता घटाई स्थानीयस्तरमै अवसर सिर्जना गर्ने लक्ष्य राखिएको उनले बताएका छन् । शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षा विस्तार तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ ।
स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्न स्थानीय स्वास्थ्य संस्थाको स्तरोन्नति, आवश्यक जनशक्ति व्यवस्थापन र उपकरण आपूर्ति गरिने उल्लेख गरिएको छ । लम्कीचुहामा निर्माणाधीन अस्पताललाई पूर्णता दिई सेवा विस्तार गरिने पनि प्रतिबद्धतामा समावेश छ । खानेपानी तथा सरसफाइका योजनालाई प्राथमिकतामा राख्दै सुरक्षित पिउने पानीको पहुँच विस्तार गरिने जनाइएको छ ।
ग्रामीण तथा दुर्गम बस्तीमा खानेपानी आयोजना सञ्चालन गरी दीर्घकालीन समाधान खोजिने उनले बताएका छन् । सामाजिक विकासअन्तर्गत ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायका लागि लक्षित कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता छ । संस्कृति संरक्षणतर्फ थारू समुदायको भाषा, कला र परम्परा जोगाउन थारू सङ्ग्रहालय स्थापना गर्ने योजना अघि सारिएको छ ।
साथै विभिन्न आन्दोलनमा सहिद भएका परिवारलाई प्रत्येक वर्ष सम्मान गर्ने तथा सहिदगेट निर्माण गर्ने उल्लेख छ । कृषि क्षेत्रमा उत्पादन वृद्धि र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न खेती प्रणालीमा प्रोत्साहन कार्यक्रम लागू गरिने प्रतिबद्धता जनाइएको छ । किसानलाई आधुनिक प्रविधि, बीउबिजन र बजार व्यवस्थापनमा सहयोग पु¥याइने योजना पनि समेटिएको छ ।
पूर्वाधार विकासलाई आर्थिक समृद्धिको आधारका रूपमा प्रस्तुत गर्दै साउदले सेती लोकमार्ग निर्माण कार्यलाई तीव्रता दिन पहल गर्ने बताएका छन् । डुडेझारी औद्योगिक क्षेत्र स्थापना गरी स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । चिसापानी–कुइने हुँदै अछाम जोड्ने मार्गलाई द्रुत गतिमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ । त्यस्तै लम्की–राजकाँडा, डुडेझारी–टीकापुर तथा बौनिया–खिमडी सडक निर्माण कार्य सम्पन्न गरिने योजनासमेत सार्वजनिक गरिएको छ ।
साउदले आफ्नो प्रतिबद्धतापत्र कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक ढंगले काम गरिने बताएका छन् । उनले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राखिने दाबी गरेका छन् । कैलाली क्षेत्र नम्बर २ को दिगो विकास, रोजगारी सिर्जना र सामाजिक रूपान्तरण आफ्नो मुख्य एजेण्डा रहेको उनले स्पष्ट पारेका छन् ।









प्रतिक्रिया दिनुहोस्