नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक हो । यिनै विविधताबीच यहाँका विभिन्न धर्मावलम्बीहरूले आआफ्ना विभिन्न चाडपर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने नेपालीको आफ्नै सद्भावयुक्त परम्परा छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउँदै आएका छन् । एउटा धर्म मान्ने जाति सम्प्रदायले अर्को धर्म मान्ने जाति सम्प्रदायको चाडवाडहरूमा साझा भएर एकजुट भएर मनाउने प्रचलनले नेपालको सुन्दरता अझै बढाएको छ । समाजमा रहेका विभिन्न जातजाति, विभिन्न धर्मावली तथा सम्प्रदायले एकअर्काका चाडवाडहरू मिलेर मनाउँदा भाइचारा सम्बन्ध पनि नजिक बनाइरहेको हुन्छ । नेपालमा रहेका विभिन्न धर्महरूमध्ये हिन्दु धर्म मान्ने सम्प्रदाय सबैभन्दा धेरै रहेका छन् । अन्य धर्ममा जस्तै हिन्दु धर्ममा पनि विभिन्न चाडवाडहरू रहेका छन् । हिन्दु धर्मावलम्बीहरूले आफ्ना चाडवाडहरूलाई धुमधामका साथ मनाउने गरेका छन् । आज महाशिवरात्री अर्थात् शिवरात्री । यो चाड हिन्दुहरूको प्रमुख चाडमध्येको एक हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ ।
कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् । मानिन्छ, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्री अथवा कालरात्री भनिन्छ । तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन् । उनको रूप बडो विचित्रको छ । शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत् तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ । पछिल्लो समयमा शिवरात्रीका दिनलाई गलत अर्थमा प्रयोग गर्ने गरेको पाइन्छ । शिवजीले भाङ गाँजा खाने गर्दथे भन्दै भक्तहरूले पनि यस दिन खानुपर्छ भनेर नसालु पदार्थहरूको सेवन गरेका पाइन्छन् । नसालु पदार्थको सेवनबाट समाजमा आपराधिक क्रियाकलापहरू समेत हुने गर्दछन् । तसर्थः यस पर्वको महिमालाई कायम राख्दै प्रसादका नाममा अनेकौँ किसिमका नसालु पदार्थ सेवन गर्नु उचित होइन् । समाजमा बढ्दै गइरहेको यस कार्यलाई निरुत्साहित पार्न र महाशिवरात्रीको साँच्चिकै महिमा गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्