बैतडी बस दुर्घटनाः बागथलामा आठजनाको सामूहिक शवयात्रा



बैतडी ।

बैतडी बस दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये आठजनाको शव आर्यघाट पु¥याइएको छ । पुर्चौडी नगरपालिका–७ मा बिहीबार साँझ जन्तीसवार बस दुर्घटना हुँदा ज्यान गुमाएका ८ जनाको शव सँगै लगेर बझाङको बागथलास्थित कालंगा आर्यघाट पु¥याइएको हो ।

बित्थडचिर गाउँपाकिाल– ७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, बसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी, बिसनदत्त जोशी र सोही वडाको धामी गाउँका दीपकराज जोशीको शव अन्त्येष्टिका लागि आर्यघाट पु¥याइएको स्थानीय मुकुन्द जोशीले जानकारी दिए । ‘केही मृतकका छोरा काठमाडौैँमा थिए,’ जोशीले भने, ‘अझै पुगिसकेका छैनन् । उहाँहरुलाई आर्यघाटमै पर्खिरहेका छौँ ।’

मृतकमध्ये नरेन्द्रराज र विष्णुदत्त सहोदर दाजुभाइ हुन् । नरेन्द्र बित्थडचिर–७ का वडा सचिव थिए भने भने भाइ विष्णु स्थानीय महादेव माविमा अङ्ग्रेजी शिक्षक थिए । यस्तै, बसन्तराज मृतक नरेन्द्र र विष्णुका भतिजो हुन् । दुर्घटनामा ज्यान गुमाउने केशवराज जोशी र अशोकराज जोशी बाबुछोरा हुन् । उनीहरु पनि नरेन्द्र र विष्णुकै बाजे भाइतर्फका परिवारका सदस्य हुन् ।

मृतक १३ मध्ये दुईजना भने केदारस्यू गाउँपालिकाका र दुईजना अवस्थी गाउँका हुन् । मृतक सुशील जोशी भने पुर्चाैडी गाउँपालिका बैतडीका हुन् । उनी दुलहीका सहोदर भाइ हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार