अत्तरियामा चेकजाँचमा कडाइ



अत्तरिया (कैलाली) ।

कैलालीको अत्तरिया बसपार्कमा आउँदै गरेको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश तथा इलाका प्रहरी कार्यालय मालाखेतीको आयोजनामा अत्तरिया बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरी बसहरूको सघन चेकजाँच गरिएको हो।

प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर मगाई लामो तथा छोटो दूरीमा चल्ने बसहरूमा स्किनिङ गरिएको प्रहरीले जनाएको छ । मानिसबाट गरिने चेकजाँचभन्दा कुकुरद्वारा गरिने खोजतलास अझ प्रभावकारी हुने भएकाले यो विधि अपनाइएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार फागुन २१ गते हुन लागेको चुनावलाई शान्तिपूर्ण र सुरक्षित बनाउन विस्फोटक पदार्थ तथा लागूऔषध ओसारपसार रोक्ने उद्देश्यले यस्तो स्किनिङ गरिएको हो । अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारीसाधनलाई लक्षित गरी यो अभियान हप्तामा कम्तीमा एक दिन, जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिने उनले बताए ।

सोमबार गरिएको स्किनिङमा एक दर्जनभन्दा बढी सवारीसाधन चेकजाँच गरिएको भए पनि कुनै पनि विस्फोटक पदार्थ वा लागूऔषधजन्य सामग्री फेला नपरेको डीएसपी चन्दले जानकारी दिए । चुनाव नजिकिँदै जाँदा सुरक्षा सतर्कता अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार