सम्पादकीयः हात्तीपाइले रोग निवारणमा चुनौती



हात्तीपाइले रोग अहिले देशका केही जिल्लाहरूमा चुनौतीका रूपमा देखा परिरहेको छ । हात्तीपाइले रोग निवारणका लागि सरकारले विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ र पनि यो रोग समुदायबाट निवारण हुन सकिरहेको छैन् । हात्तीपाइले रोगबाट अहिले नागरिकहरू पीडित बन्दै गइरहेका तथ्यांकले देखाउँछ । हात्तीपाइले (फाईलेरिया) रोग मानिसलाई नराम्रो गरी शारिरीक रूपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारणभन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो । लामखुट्टेले हात्तीपाइले रोग भएको मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र अरू स्वस्थ मान्छेलाई टोकेर ती परजीवी त्यसलाई सारीदिन्छ । यसरी लामखुट्टेले हात्तीपाइले रोग एक व्यक्तिबाट अर्को व्यक्तिलाई सार्ने काम गर्दछ । सुरूसुरूमा यो रोगको परजीवी मानिसको शरीरभित्र भए तापनि हात्तीपाइले रोगको कुनै लक्षण देखिँदैन ।

लामो समयपछि एक वर्ष वा त्योभन्दा बढी समयपछि मात्र रोगको लक्षणहरू देखिनसक्छ । ज्वरो आउनु, जाडो लाग्नु, शरीरमा विभिन्न भागहरूमा गिर्खा आउनु, दुख्नु, हात गोडाहरूमा निला र काला धर्साहरू देखापर्नु, महिलाहरूलाई यो रोग लागेको भए स्तन फुलेर ठूलो हुनु, पुरुषहरूलाई यो रोग लागेको भए अण्डकोष ठूलो हुनु वा हाइड्रोसिल हुनु, बिरामीका यौन अंगहरू सुन्निनु, रोग पुरानो हुँदै गएमा गोडा फुलेर हात्तीको जस्तो ठूलो हुनु, बिरामीको पिसाब सेतो रंग वा दही जस्तो हुनु यो रोगले शारीरिक असमर्थता पनि हुने भएकोले मानसिक तनाव बढी भई कामकाज गर्न नसकिने लक्ष्ण देखा पर्दछन् । सरकारी तथ्यांकअनुसार यो रोगबाट देशका ६३ जिल्लाका नागरिकहरू पीडित रहेका छन् । हिमाली १२ र पहाडी २ गरी जम्मा १४ जिल्लाहरूमा यो रोग जनस्वास्थ्य समस्याको रूपमा नदेखिएको तथ्यांक छ । नेपालमा हात्तीपाइले रोग एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखा परिरहेको छ । नेपालमा सन् २००३ देखि हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमअनुसार देशका ६१ जिल्लाहरूमा आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिएको र ६१ जिल्लामध्ये ३१ वटा जिल्लाहरूमा आमऔषधि सेवन कार्यक्रम समाप्त भई निगरानीको चरणमा प्रवेश गरेको सरकारले जनाएको छ ।

यो रोगबाट बच्नको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा कार्यक्रम लागू भएका जिल्लाहरूमा प्रत्येक वर्षमा एकपटक गरी ६ वर्षसम्म लगातार औषधि सेवन गर्नुपर्छ । स्थानीय तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरूमार्फत औषधि वितरण केन्द्र तथा घरदैलोमा गई निःशुल्क वितरण गरिने औषधि सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपयुक्त उपाय हो । यो औषधि वर्षको एकपटक गरी ६ वर्षसम्म लगातार सेवन गर्नुपर्छ अनि मात्र आफू र आफ्ना सन्तानहरूलाई पनि यो रोगबाट बचाउन सकिन्छ । यो रोगबाट बच्नका लागि सुत्ने बेलामा सधैँ झुल प्रयोग गरी सुत्ने, पूरा बाहुला भएको लुगा र सम्पुर्ण शरीर छोप्ने लुगा लगाउने, घरबाहिर बस्दा वा सुत्दा शरीरको कुनै भाग खुला रहने भएमा लामखुट्टेले नटोक्ने मलम लगाउने, लामखुट्टे भगाउने धुप बाल्ने लामखट्टे नियन्त्रणका लागि घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झ्यालढोकामा मसिनो जाली लगाउने लगायतका तरिका अपनाउन सकिन्छ । यो रोगबाट बच्नका लागि व्यक्ति स्वयं पनि सचेत हुनु जरुरी छ । सरकारले कार्यान्वयन गर्ने कार्यक्रमहरूलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायहरू, स्थानीय तह आदिले पनि जिम्मेवारीका साथ काम गर्न आवश्यक छ । हात्तीपाइले रोगलाई निवारण गर्नका लागि सरकारसँगै सबैले हातेमालो गर्नु जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार