हेटौँडा औद्योगिक क्षेत्रभित्र सन्चालित महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । गए राति भएको आगलागीबाट तयारी सामान, कच्चा पदार्थ र प्याकिङका सामग्रीहरू जलेर नष्ट भएका जनाइएको छ ।
उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार विद्युत् सर्ट भएर मध्यरातमा सुरु भएको हो । क्षतिको विस्तृत विवरण संकलन भइरहेको भए पनि प्रारम्भिक अनुमानअनुसार करिब १० देखि १२ करोड रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको उनले बताएका छन् । रातिको समयमा आगो लागेकाले तत्काल नियन्त्रणको प्रयास गर्दागर्दै पनि ठुलो क्षति हुन पुगेको व्यवस्थापक बुढाथोकीले बताएका छन् ।
हेटौँडा उपमहानगरपालिकाका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा आगलागी नियन्त्रण गरेका थिए ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्