तुवाँलोले ढाक्यो काठमाडौँ उपत्यका



यतिबेला काठमाडौँ उपत्यकामा तुवाँलो लागिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज शनिबार बिहान १० बजेयता काठमाडौँ उपत्यकामा तुवाँलो लागिरहेको हो।

बिहान १० बजेअघिसम्म चाहिँ काठमाडौँ उपत्यकामा हुस्सु थियो। त्यसयता तुवाँलो लागिरहेको छ’, उनले भने। ‘पारदर्शिता ५ किलोमिटरभन्दा मुनि भाको तर हावामा पानीका कण नभएको अवस्थालाई हामी हेज भन्छौँ, नेपालीमा चाहिँ तुवाँलो भन्छौँ’, मौसमविद् अधिकारीले थपे।

उनका अनुसार काठमाडौँ उपत्यकामा अहिले ३५ सय मिटर भिजिबिलिटी छ। ‘योभन्दा तल झर्‍यो भनेचाहिँ हवाई उडानमा समस्या हुन्छ। यत्तिले चाहिँ खासै फरक पार्दैन’, उनले भने। मौसमविद् अधिकारीका अनुसार न्यून चापीय प्रणालीले काठमाडौँ उपत्यकामा बादल त ल्याएको छ तर त्यो माथिल्लो वायुमण्डलमा मात्र सीमित भएकाले वर्षा हुन सकेन।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार