मायादेवीमा प्रभावकारी बन्दै ‘होलिडे लर्निङ क्याम्प’



स्थानीय युवा क्लब तथा सञ्जालका युवाहरूको सक्रिय सहभागितामा प्रत्येक शनिबार र विद्यालय बिदाका दिन उक्त क्याम्प सञ्चालन हुँदै आएको छ । प्रत्येक टोल–बस्तीमा करिब २० देखि ४० जना बालबालिका सहभागी भई पढाइ–लेखाइ, चित्रकला, गीत–संगीत, खेलकुद, नैतिक शिक्षा, जीवनोपयोगी सीप तथा विविध सिर्जनात्मक गतिविधिमा संलग्न हुने गरेका छन् ।

नारद कोहार । कपिलवस्तु ।

जिल्लाको मायादेवी गाउँपालिकामा विद्यालय बिदाका दिनहरूलाई अर्थपूर्ण र उत्पादनशील बनाउने उद्देश्यले सञ्चालन गरिएको होलिडे लर्निङ क्याम्प प्रभावकारी बन्दै गएको छ । दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (युएमएन)को संयुक्त साझेदारीमा सञ्चालित परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजनाअन्तर्गत उक्त क्याम्प सञ्चालन गरिएको हो ।

स्थानीय युवा क्लब तथा सञ्जालका युवाहरूको सक्रिय सहभागितामा प्रत्येक शनिबार र विद्यालय बिदाका दिन उक्त क्याम्प सञ्चालन हुँदै आएको छ । प्रत्येक टोल–बस्तीमा करिब २० देखि ४० जना बालबालिका सहभागी भई पढाइ–लेखाइ, चित्रकला, गीत–संगीत, खेलकुद, नैतिक शिक्षा, जीवनोपयोगी सीप तथा विविध सिर्जनात्मक गतिविधिमा संलग्न हुने गरेका छन् । यसअघि विद्यालय बिदाका दिनहरूमा धेरै बालबालिका मोबाइलमा सीमित हुने, पढाइप्रति चासो घट्ने र युवाहरूले पनि समयको सदुपयोग गर्न नसक्ने अवस्था रहेको अभिभावक लखपती तेलीले बताए ।

होलिडे लर्निङ क्याम्पमा सहभागी बालबालिकाका अभिभावक तेलीका अनुसार क्याम्पपछि बालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन देखिएको छ । ‘बालबालिका घरमा होमवर्क गर्न थालेका छन्, पाहुना आउँदा नमस्कार गर्ने, विद्यालय जाँदा ढोग गरेर जाने जस्ता व्यवहारिक कुरा सिकेका छन्,’ उनले भने । खाली समयमा सिकेका व्यवहारिक ज्ञान घरमै प्रयोग गर्न थालेको उनको भनाइ छ ।

क्याम्पले बालबालिकामा सिकाइप्रतिको रुचि र सिर्जनशीलताको संस्कार विकास गर्नुका साथै युवाहरूको सक्रिय सहभागिता र नेतृत्व क्षमतामा समेत उल्लेख्य वृद्धि भएको सहजकर्ता विन्देश्वरी यादवले बताइन् । क्याम्प सञ्चालनपछि बालबालिकाको पढ्ने बानीमा सुधार आएको, आत्मविश्वास बढेको र सिर्जनात्मक क्षमतामा अभिवृद्धि भएको अभिभावकहरूले महसुस गरेका छन् ।

यसले समुदायस्तरमा अभिभावकहरूको दृष्टिकोणमा समेत परिवर्तन ल्याएको छ । बिदालाई केवल आरामको समय नभई सिकाइ र समग्र विकासको अवसरका रूपमा हेर्ने प्रवृत्ति विकास हुँदै गएको छ । बालबालिका, युवा र अभिभावक तीनै तहमा सकारात्मक सोच, व्यवहार र अभ्यासमा परिवर्तन ल्याउन सफल भएको यो क्याम्प समुदायमा सिकाइ, सहभागिता र नेतृत्व विकासको असल अभ्यासका रूपमा स्थापित हुँदै गएको छ ।

अभिभावकहरू क्याम्पप्रति उत्साहित भई बालबालिकालाई नियमित सहभागी गराउन थालेपछि यसको प्रभाव झनै सशक्त बन्दै गएको छ । सोही अवस्थालाई मध्यनजर गर्दै मायादेवी गाउँपालिकाका १६ वटा टोल–बस्तीमा विद्यालय जाने बालबालिकालाई लक्षित गरी होलिडे लर्निङ क्याम्प सञ्चालन गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार