राष्ट्रिय एकता दिवसको अवसरमा कोहलपुरमा दीप प्रज्वलन



कोहलपुर :३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कोहलपुरमा दीप प्रज्वलन गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् कोहलपुर नगर इकाईको आयोजनामा कोहलपुर–११ स्थित न्युरोड चोकमा दीप प्रज्वलन गरिएको हो । प्राज्ञिक विद्यार्थी परिषद् कर्णाली प्रदेश अध्यक्ष भीम रोकायाले दीप प्रज्वलन गर्दै कार्यक्रमको सुरूवात गरेका थिए ।

लगत्तै सहभागीहरूले जयन्तीको अवसरमा दीप प्रज्वलन गरेका थिए । अध्यक्ष रोकायाले पृथ्वी जयन्ती आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानलाई सम्झिने दिन भएको बताए । उनका अनुसार परिषद्ले शाहको जन्मोत्सवको अवसरमा दीप प्रज्वलन गरेर सम्मान गरिएको हो । पृथ्वीनारायण शाहले दिएको ‘दिव्योपदेश’ अहिले पनि सान्र्दभिक रहेको उनले बताए । उनले भने, ‘उनले नेपाललाई चार वर्ण ३६ जातको साझा फूलबारी भनेका छन् । आधुनिक नेपालको आकार दिने शाह नै हुन् । त्यसैले आजको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइन्छ । हामीले पनि मनाएका छौँ ।’

प्राज्ञिक विद्यार्थी परिषद् कोहलपुर नगर इकाईकी अध्यक्ष विरंगना योगीले पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक भएको बताइन् । उनका अनुसार राष्ट्र निर्माणकर्ता शाहको जन्म जयन्तीको अवसरमा परिषद्ले कार्यक्रम आयोजना गरेको हो । परिषद्का सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा इकाई सदस्य जमुना घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार